Sunday, June 26, 2011

‘थ्री इडियट' र हाम्रो शिक्षा व्यवस्था

दीपेन्द्र लामा- आमिर खान अभिनित फिल्म ‘थ्री इडियट्स'को सफलता कीर्तिमानधारी व्यापारमा मात्रै सीमित रहेन। यसले शिक्षा प्रणालीलाई कठघरामा समेत उभ्याइदियो। तीन अर्ब भारु नाफा कमाएको सन् २००९ को यो भारतीय फिल्मले शिक्षाको यान्त्रिक संरचनाप्रति कडा व्यंग्य गर्‍यो।राजकुमार हिरानीद्वारा निर्देशित फिल्ममा प्रोफेसर वीरु (बोमन इरानी)ले विद्यार्थीहरू रेन्चो (आमिर), फरहान (माधवन) र राजु (शरमन जोशी)लाई तीन ‘इडियट' घोषणा गरिदिन्छ। फिल्मको कथामा भने शिक्षा प्रणाली, शिक्षक र अभिभावकलाई तीन ‘इडियट'को रूपमा स्थापित गरिएको छ।
भारत र नेपालको शिक्षा प्रणाली ज्ञानमुखीभन्दा नतिजामुखी छ। उत्कृष्ट अंक ल्याउनुपर्ने दबाबले विद्यार्थीहरू विषयको गहिराइ बु‰न र अनुसन्धानपट्टि होइन घोकन्ते विद्यातिर उन्मुख हुन बाध्य छन्। प्राप्तांकलाई यसरी अतिरञ्जनासँग प्रस्तुत गरिन्छ कि अनुत्तीर्ण विद्यार्थीहरू हीनताबोधका कारण आत्महत्याको बाटो रोज्न पछि पर्दैनन्। भारतमा त हरेक डेढ घन्टामा एक विद्यार्थीले आत्महत्या गर्ने तथ्यांक छ, फिल्मले यो प्रसंग पनि छोएको छ।
प्रतिभाको मूल्यांकन प्राप्तांकले मात्र गरिँदा विद्यार्थीहरू अंक उत्पादन गर्ने यन्त्रमा परिणत भएका छन्। मुख्य पात्र रेन्चो आफूले कलेजमा पाएको प्रमाणपत्र मालिकको छोरालाई सुम्पेर सुदूर गाउँ जान्छ र एउटा नमुना विद्यालय चलाउँछ। जीवन बाँच्न अंक होइन ज्ञान चाहिन्छ भन्ने उसको दर्शन हो।
थोरै अंकको आक्रोश विश्वविद्यालय तोडफोड र आगजनीमार्फत् व्यक्त गर्ने विद्यार्थीहरू कसरी निर्माण भए? यसमा तिनै विद्यार्थीलाई दोष दिएर पन्छिने कि शिक्षा प्रणाली, शिक्षण शैली वा बौद्धिक प्राध्यापकहरूको पनि समीक्षा गर्ने? किनभने विद्यार्थीको आक्रोश फिल्मको कथा, भारत र नेपाल सबैतिर समान छ।
एउटा इन्जिनियरिङ कलेजलाई समग्र भारतकै शिक्षा प्रणालीको रूपमा प्रस्तुत गरेको छ ‘थ्री इडियट्स'ले। चेतन भगतको उपन्यास ‘फाइभ प्वाइन्ट समवान'मा आधारित यो विद्यार्थी, शिक्षक र अभिभावकले हेर्नै पर्ने फिल्म हो। यसले विद्यार्थीको सपनामा रंगीचंगी प्वाँख हालिदिन्छ।
गृहकार्यको नाममा मानसिक यातना दिने, विद्यार्थीका विविध मनोविज्ञान पटक्कै नबुझ्ने, रचनात्मक होइन प्रवचनको शैलीमा पढाउने शिक्षकहरूको झझल्को फिल्ममा प्रोफेसर वीरुको चरित्रमा भेटिन्छन्। विद्यार्थीमाथि शासन गर्न खोज्ने प्रवृत्तिले उसलाई थप जटिल बनाएको छ।
जन्मिनुअघि नै आफ्नो बच्चालाई डाक्टर वा इन्जिनियर तोक्ने मध्यमवर्गीय अभिभावकको चिन्तन पनि शिक्षा प्रणालीको चुनौती हो। बैंकिङ, पर्यटन, कला, समाजशास्त्र, व्यवस्थापन, सञ्चार र अरू थुप्रै स्वतन्त्र क्षेत्र आकर्षक पेशा बनिसकेको परिवेशमा पनि डाक्टर र इन्जिनियरलाई मात्र आर्थिक सुरक्षाको विधा मान्ने परम्परागत सोच घटेको छैन। फिल्ममा आफ्नो परिवारलाई गरिबीबाट मुक्ति दिलाउन नै राजुले इन्जिनियरिङ पढिरहेको हुन्छ भने उसको साथी फरहान चाहिँ बुबाको करकापमा परेको हुन्छ। जबकि फरहानको इच्छा वन्यजन्तु फोटोग्राफर बन्ने हुन्छ।
शिक्षा प्रणालीको स्वरूप समाजले नै निर्धारण गर्ने हुनाले समाजकै संरचनामाथि बहस वा पुनर्विचार गर्न जरुरी छ। फिल्ममा ‘अल इज वेल' भन्दै ठूलो स्वरमा गीत गाइन्छ। हो पक्कै पनि ‘अल इज वेल' भन्दैमा समाधान हुँदैन तर यसले समस्याका पर्खाल नाघ्ने उर्जा भने दिन्छ।
एक अध्ययन अनुसार नेपालमा कक्षा १ मा भर्ना भएकामध्ये ४५ प्रतिशत विद्यार्थी ५ कक्षासम्म, ३८ प्रतिशत ८ कक्षा, २८ प्रतिशत १० कक्षा र ९ प्रतिशतमात्रै १२ कक्षा पुग्छन्। यति ठूलो मात्रामा विद्यार्थीले किन पढाइ त्याग्छन्? यसमा सामाजिक पृष्ठभूमि र आर्थिक समस्यालाई मात्र कारक मान्न मिल्दैन। यसको अपजस तीन ‘इडियट' शिक्षा प्रणाली, शिक्षक र अभिभावकलाई समेत जान्छ।
विद्यार्थीहरू शारीरिक, मानसिक, बौद्धिक र सामाजिक विकासबाट एकैचोटि गुजि्ररहेका हुन्छन्। यो संवेदनशीलताले सन्तुलित हेरचाह पाएन भने विद्यार्थीको भविष्य अन्धकारतिर धकेलिन सक्छ। ‘थ्री इडियट्स'का सबै पात्रहरूमा यो संवेदना उतार्न निर्देशक सफल छन्।
फिल्ममा देखाइएका विद्यार्थीहरू युवा वर्गका छन्, जो शिक्षासहित स्वास्थ्य, रोजगारी, मनोरञ्जन, खेलकुद, सामाजिक सुरक्षा, सूचनाप्रविधि र राजनीतिप्रति जिज्ञासु हुन्छन्। यसैले विद्यार्थीको दीर्घकालीन हीतका लागि राष्ट्रिय युवा नीतिलाई प्रभावकारी बनाउन र कार्यान्वयन गर्न अत्यावश्यक छ। यसले कलेजबाट पलायन भएका युवाहरूको पनि सदुपयोग हुनेछ।
कलेज लाइफका हल्काफुल्का क्षण, मायाप्रीति र मित्रताका पक्षलाई पनि फिल्ममा समेटिएको छ। समयले मान्छेलाई सधैं अपरिपक्व रहन दिँदैन। ऊ जुन विषय वा हालतमा भए पनि एक दिन परिपक्व हुनैपर्छ। एउटा सनकको भरमा चतुर (ओमी वैद्य)ले रेन्चोसँग जीवन उपलब्धिकै बाजी लगाउँछ। तर, समयले ल्याइदिने परिपक्वताले उसको घमण्ड तोडिन्छ।
फिल्म एउटा मनोरञ्जनको सस्तो साधनमात्र होइन। यसले मान्छेलाई आत्मालोचना गर्न लगाई नयाँ बाटो देखाइदिन सक्छ। फिल्म निर्देशकको योभन्दा असल सामाजिक भूमिका के हुन सक्छ र? त्यसैले ‘थ्री इडियट्स'का निर्देशक राजकुमार हिरानी समाजका लागि एक आदर्श ‘शिक्षक' साबित भएका छन्।
अन्त्यमा परीक्षामा सफल, आंशिक सफल र असफल हुने सबै विद्यार्थीका लागि प्रेरणादायी गीतको केही हरफ, जुन सुरज जगन र शरमन जोशीले गाएका छन्:
गिभ मि सम सनसाइन
गिभ मि सम रेन
गिभ मि अनोदर चान्स
आई वान्ना ग्रो अप वान्स अगेन।
स्रोत: नागरिकन्युजडटकम

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |