Monday, October 4, 2010

अमृत स्वभाव

मनोज दाहाल
'हिँडेपछिको आनन्द लिन हिँड्नैपर्छ,' ऊ महर्षि भाषा बोल्छ- अनुभवलाई शब्दमा बाँध्न सकिँदैन। तिमी जे अनुभव गर्छौ, त्यही तिम्रो हो।

रमण महर्षि पढिरहेको छु।
उनले भनेका छन्- आफ्नो स्वभाव चिन्नुमै जीवन्तता छ, तिमीले आफ्नो स्वभाव वा भनौं, प्रकृति बिर्स्यौ भने त्यो तिम्रो मृत्यु हो।
सायद उसले पनि रमण महर्षि पढेको छ। वा, हुनसक्छ, उसलाई रमण महर्षि पढिरहनु पर्दैन। उनले जे सिके र संसारलाई सिकाए, त्यो उसले व्यवहारमै लागु गरिरहेको छ भने किन पढ्नुपर्‍यो रमण महर्षि?
ऊ भन्छ, 'भाइ, कति चिज आफूले नगर्दा राम्रो हुन्छ, म क्लासिकल गर्दिनँ तर एक्लै बसेको बेला घन्टौं क्लासिकल सुनिरहन्छु।'
अर्थात उसको स्वभाव क्लासिकल होइन।
के हो?
जगबाट ग्लासमा पानी सार्छ र बोल्छ, '२० वर्षदेखि जे गरिरहेको छु, त्यही मेरो स्वभाव हो।'
बीस वर्षदेखि मान्छे उचाल्ने गीत गाइरहेको छ ऊ जुन भाकाले केही वर्षयता 'लोकरक' नाम पाएको छ। गाउँले भाषामा भन्ने हो भने एक बीसा वर्षअगाडि (ऊ यस्तो भाषा रुचाउँछ) काठमाडौंमा कलेज पढ्दै गर्दा उसले दौंतरीहरूसँग मिलेर म्युजिकल ब्यान्ड खोलेको थियो जसको नाम साथी दीपकजंग राणाले जुराइदिएका थिए- नेपथ्य।
लोकरक उसको स्वभाव हो।
फोटोग्राफी, यात्रा, एक्लै घन्टौं बसेर सिनेमा हेर्नु वा संगीत सुन्नु, दिनदिनै १० किलोमिटर पैदल हिँडेर कार्यालय आउनु उसको लोकरक स्वभावकै अंश हुन्।
पोखरामा जन्मेहुर्केको ऊ हिमाल हेर्न रुचाउँछ। हँसाउँछ, 'मेरा लागि हिमाल हेर्न हो, चढ्न होइन।'
अर्थात हिमाल चढ्नु आफ्नो स्वभाव होइन भन्ने उसले रमण महर्षि नपढीकनै बुझेको छ।
...
अस्ति एकेडेमीमा कन्सर्ट गर्दा उसलाई १ सय २ डिग्री ज्वरो आएको थियो। अघिल्लो रात त हनहनी ज्वरोले थलै परेको थियो। जिब्रोमा लामो घाउ निस्केको थियो।
चार वर्षपछि कन्सर्ट गर्दै थियो, मानसिक दबाब छँदै थियो।
उसले त्यो मानसिक दबाब, १ सय २ डिग्री ज्वरो र जिब्रोको घाउ कसैलाई सेयर गरेन, आयोजकलाई पनि।
उसलाई थाहा थियो- चार वर्षपछि हार्ड हिटिङ रक गाउन लागेको गायकलाई ज्वरो आएको थाहा पाए भने आयोजकलाई पनि ज्वरो आउनेछ।
उसले १३ सय सिटको भरिभराउ एकेडेमी हललाई दुई घन्टा कसरी उचालिदियो भने लोकरकको चर्को आवाज र मान्छेको भीडबाट उब्जिएको हुप्प गर्मीले थुप्रैको ज्वरै निकालिदियो।
उसको चाहिँ उत्रियो।
पछि मैले भेट्दा जिब्रोको घाउले उल्लाई बोल्न अप्ठेरो भइरहेको थियो तर कन्सर्टमा ऊ कसरी गाइरहेको थियो भने दर्शकहरू ननस्टप नाचिरहेका थिए।
रमण महर्षिले भनेका छन्- तिम्रो वास्तविक स्वभाव जुनसुकै अवस्थामा पनि तिमीसँगै हुन्छ।
बिरामी भएको बेला पनि? १ सय २ डिग्री ज्वरो आएको बेला पनि?
मैले थाहा पाएँ- एउटै जोसमा झन्डै एक बिसा गीत ननस्टप दुई घन्टा गाउन सक्नु उसको स्वभाव रहेछ।
अनि त के लछार्न सक्थ्यो १ सय २ डिग्री ज्वरो र जिब्रोको लामो घाउले?
...
एक बिसा वर्षयता उसको ब्यान्ड 'नेपथ्य'मा थुप्रै आए, थुप्रै गए। ऊ यहीँ छ। थुप्रै वर्ष यहीँ रहिरहनेछ।
ऊ यहीँ ब्याक भोकलबाट लिडमा उक्लियो। दस वर्षदेखि ब्यान्डको एक्लो भोकलिस्ट बनेको छ।
थुप्रै गीत गायो।
थुप्रै एल्बम निकाल्यो।
थुप्रै कन्सर्ट गर्‍यो।
थुप्रै वाहवाही खायो।
थुप्रै हन्डर खेप्यो।
थुप्रै गाउँ घुम्यो।
थुप्रै देश चहार्‍यो।
थुप्रै बन्दुकका चर्का आवाज सुनेर तर्सियो।
थुप्रै केटाकेटीका गहिरा हिँक्कहिँक्क सुनेर विचलित भयो।
भनौं, थुप्रै अनुभवबाट गुजि्रयो।
कपाल फुलायो, जुँगा फुलायो, अनुहारमा मसिना धर्साहरू जन्मिए। आँखावरिपरिको छाला अलि मुर्झायो।
जीवन सिक्यो। भनौं, बुझ्यो।
जीवनदर्शन पत्ता लगायो- एकबारको जिन्दगी खुसी भएर बाँच्नुपर्छ, निरास भएर होइन।
अहिले निराशा र राजनीतिलाई सँगै जोड्दै भन्छ, 'डिप्रेसन र पोलिटिक्सबाट अछुतो रहन सकिँदैन तर सकेसम्म खुसी भएर बाँच्नुपर्छ। आफ्नो तरिकाले। रमाइलो भइरा छ। मज्जा आइरा छ।
गज्जब भन्यो उसले, नेपाली राजनीति त सर्वसाधारणका लागि डिप्रेसन नै हो।
भगवान्! यी नेताहरूलाई केही त सद्बुद्धि देऊ।
...
'भाइ, नेपालमा कलाकारको पारिश्रमिकचाहिँ जहिल्यै एउटै हुन्छ?' ऊ सोध्छ।
'पन्ध्र वर्षअघि मैले पहिलो कन्सर्ट गर्दा पनि एउटा कलाकारले ५ हजार नै पाउँथ्यो, अहिले पनि त्यत्ति नै पाउँछ। सबै चिजको भाउ बढ्छ, कलाकारको चाहिँ बढ्दैन?'
म चुप लाग्छु।
'दुध दिने गाईलाई राम्ररी घाँस खुवाउनुपर्छ तर यहाँ कलाकारले सधैं रुखासुखा परालमात्र खाएर गाउनुपर्छ।'
म उसले भनेका कुरा कागजमा टिप्छु।
'कहिले बढ्छ हौ हाम्रो रेटचाहिँ?'
उसलाई आफ्नो त मतलब छैन।
भन्छ, 'म पैसाका लागि कहिल्यै बाँच्दिनँ। जति पाएँ, त्यसैमा खुसी हुन्छु। आफ्नै रफ्तारमा हिँड्छु।'
उसको चासो आम कलाकारका लागि हो।
ऊ त पोखराको धनीमानी परिवारमै पर्छ। तर, कहिल्यै निजी गाडी वा मोटरसाइकल चढ्दैन। सकेसम्म हिँड्छ। हतार भएको बेला बस चढ्छ। पाटनढोकाबाट रत्नपार्क आउनुपर्‍यो भने १२ रुपैयाँ भाडा तिर्छ।
'तिमीलाई थाहा छ? हामी सुरुमा काठमाडौं आउँदा पाटनढोकाबाट रत्नपार्कको भाडा ६० पैसा थियो, अहिले १२ रुपैयाँ। हामी कलाकारको पारिश्रमिकचाहिँ जहिल्यै पाँच हजारको पाँच हजारै?'
ऊ चित्त दुखाउँछ।
...
अचेल ऊ दुःखहरूमा बाँच्दैन।
छ बजे उठ्छ, रियाज गर्छ, योग गर्छ, कपालभाती छुटाउँदैन, अलिअलि फिजिकल एक्सरसाइज गर्छ।
मुड चल्यो भने श्रीमती र भाइलाई 'ल आज तिमीहरू बस, म पकाउँछु' भन्छ र भान्सामा छिर्छ। मन लगाएर खाना पकाउँछ। श्रीमती, छोरी र भाइलाई खुवाउँछ।
फिल्म हेर्छ। गीत सुन्छ। किताब पढ्छ।
अस्ति भर्खर 'फस्ट लभ' भन्ने नेपाली फिल्म गुण सिनेमाघरमै गएर हेर्‍यो- श्रीमती र छोरी निस्सिमलाई लिएर।
'अन्नपूर्ण' भन्ने किताब पढिरहेको छ। सन् १९५१ मा पहिलोचोटि ८ हजार मिटरभन्दा माथिको हिमाल चढ्ने आरोहीले लेखेको नियात्रा।
पहिले रक सुन्थ्यो। नेपाली आधुनिक गीत त दिलमै थियो। अहिले क्लासिकलले तानेको छ।
बर्खामा रुझेर हिँड्छ। अस्ति असारसाउनमा तीनचार दिन हिँडेर रुझ्दै घरअफिस गर्‍यो। नेपालयका किरणकृष्ण श्रेष्ठलाई पनि रुझाइदियो एक दिन फेवातालमा!
फोटो खिच्छ। बुढाबुढी, केटाकेटीसँग गफिन स्वाद मान्छ।
एक्लै बस्न पाउँदा रमाउँछ। आफ्नै सुरमा दिन बिताउँदा मज्जा मान्छ।
कहिलेकाहीँ त उसलाई देख्दा आहारिस लाग्छ!
...
सन् १९९८ मा ऊ कन्सर्ट लिएर जापान गयो। झुर भयो। कन्सर्ट पनि, अनुभव पनि। आयोजकले खासै तयारी गरेका रहेनछन्। हजार क्षमताको हलमा आठजना दर्शक देख्दा एकपटक त ऊ आत्तियो।
तिनीहरूका लागि मात्र कन्सर्ट गर्‍यो। पाठ सिक्यो- व्यापार र कलाकारिता फरक चिज रहेछ। व्यापारमा नाफा हेर्नैपर्छ तर कलाकारितामा नाफा हेर्नु हुँदैन रहेछ भन्ने बुझ्यो।
नेपालमा गीत गाएर व्यवहार चल्दैन थियो। साथीहरू जापानमै लुके। उसले 'नलुक' भनेन। ऊ र ड्रमर धु्रव लामामात्र घर फर्के।
यहाँ आएपछि लाखौं खाएर कलाकारहरू जापान लुकाएको भन्ने आरोप खेप्यो। चरम अवसादमा डुब्यो। गीत गाउन छोडिदियो।
एक्लोपना सहारा बन्यो।
अहिले सम्झन्छ, 'जिन्दगीमा एकदमै नमज्जाका क्षणहरू बिताएँ भाइ। गाउँ गएर बसेँ। खेती गरेँ। घुमेँ। भरखरै बिहे गरेको थिएँ। आरोप र तिरस्कारको अपमान खेपिरहेको थिएँ। जिन्दगी एकदमै डरलाग्दो भएको थियो।'
मलाई पनि उसका कुरा सुन्दै अत्यास लाग्यो।
साथीभाइले सहारा दिए। वातावरण पत्रकार समूहमा काम गर्‍यो। टेलिभिजनमा काम गर्ने तालिम लियो। पत्रकार बन्यो। टेलिभिजन च्यानलमा काम गर्‍यो।
साथीभाइले म्युजिक गर्नुपर्छ भन्थे। ऊ सन्किन्थ्यो। संगीतमा लागेर पाएको चरम निराशा र अवसादबाट बल्ल बाहिर निस्कन खोजिरहेको थियो।
एक दिन उसलाई मुड आयो किनभने संगीत उसको रगतमै थियो। भनौं, स्वभाव थियो।
सहरमा गीत घन्कियो- रेशम...!
२००१ मा निस्केको यो एल्बमले उसलाई संगीतमा फर्कायो। एल्बममा ऊ सोलो गायक थियो।
२००२ को सहिद दिवसमा उसले कन्सर्ट गर्‍यो, यही एकेडेमीमा जुन त्यत्तिखेर ठुस्स गनाउँदैन थियो, अहिले जसरी।
मैले उसलाई पहिलोपल्ट कन्सर्टमा देखेको त्यही दिन थियो। म दिउसै साथीसँग जिन तानेर पुगेको थिएँ। उसको भाकाले अझ मताएको थियो।
त्यो साँझ कन्सर्ट सकिएसँगै नेपाली संगीतमा उसको पुनरागमन भएको थियो।
अवसादका ती दिन सम्झेर अहिले पनि उसलाई कहाली लाग्छ, 'भो नसम्झाऊ यार, ती दिनहरू!'
उसले पाठ पनि सिकेको छ, 'खाएको बिषमात्र लाग्दो रैछ। नखाएको बिष कहाँ लाग्दो रैछ!'
कलाकार जापान लग्ने भनेर साँच्चिकै पैसा उठाएको भए त मनले नै अहिलेसम्म उसलाई खाइसकेको हुन्थ्यो।
...
दिन फिरे।
छेक्यो छेक्यो देउराली डाँडा, जोमसोमै बजारमा, उडायो रेलैले, रेशम, लामपाते सुरती, भेडाको ऊनजस्तो, तालको पानी, सा कर्णाली गाउँदै ऊ देश घुम्यो। कहिले शान्तिका लागि शिक्षा कार्यक्रम, कहिले सुन्दर शान्त नेपाल अभियान लिएर।
संकटकाल थियो, माओवादी र सरकार दुवै बन्दुक पड्काइरहेका थिए। ऊ गीत गाइरहेको थियो- शान्तिको गीत।
मैले त्यो बेला यो मान्छेको प्रतिबद्धतालाई सलाम गरेको थिएँ।
घाइते देशलाई महसुस गरेर उसले २२ मिनेटको आँसु-गीत गायो। एल्बम थियो- घटना। रक शैलीमा नेपालको ब्लुज गाएको थियो उसले।
गीतमा उसले आफ्नो दुखेको मन निचोरेर पोख्यो। अहिले त घटनाजस्तो दुःखैदुःखको कथा गीतमा गाउन सक्दिनँ होलाजस्तो लाग्छ उसलाई।
जीवनको सार खोज्दै गयो। निरासैनिरासाबीच बाँच्न सिक्नुपर्छ भनेर मान्छेहरूलाई सिकाउन थाल्यो।
विभिन्न आशावादी गीत र 'घटना' पनि समेटेर मानिसमा सकारात्मक भाव उब्जाउन 'मेरो देश' एल्बम गर्‍यो। खासै चलेन।
भर्खरै 'ऐना झ्याल' एल्बम निकाल्यो जसले चल्ने छाँट ल्याइरहेको छ।
ऊ मान्छेको मनमा शितलता छर्दैछ- जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना भन्दै।
लेघ्रो तानेर भन्दैछ-
मिलेर बसौं है!
खुसी भएर बाँचौं है!
रमाएर नाचौं है!
...
'भाइ, जिन्दगी भनेको यो सेतो बोर्डजस्तो हो, तिमीले जस्तो लेख्यौ, त्यस्तै लेखिन्छ। राम्रो लेखे राम्रो, नराम्रो लेखे नराम्रो,' भित्ताको बोर्ड देखाउँदै ऊ दार्शनिक भाषा बोल्छ।
दर्शनशास्त्र, अध्यात्ममा ५० वर्ष कटेपछिमात्र लाग्छु भन्छ। अर्थात अझै ६/७ वर्षपछि। तर, ऊ एउटा शुद्ध आध्यात्मिक प्राणी भइसकेको छ। संगीतको ध्यान गर्दै हिँड्ने आध्यात्मिक गायक।
'हिँडेपछिको आनन्द लिन हिँड्नैपर्छ,' ऊ महर्षि भाषामा आउँछ, 'अनुभवलाई शब्दमा बाँध्न सकिँदैन। तिमी जे अनुभव गर्छौ, त्यही तिम्रो हो।'
रमण महर्षिको भाषामा पनि तिमी जे अनुभव गर्छौ, त्यही तिम्रो हो, त्यही सत्य हो।
Source:Nagariknews.com

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |