सरकारले यसै वर्षदेखि प्रवीणता प्रमाणपत्र तह खारेज गरेपछि अब SLCपछि उच्चशिक्षाको आधार प्लस टु मात्रै हो। अब उच्च शिक्षाका लागि विद्यार्थीहरूसँग प्लस टुको विकल्प छैन। त्यस कारण प्लस टु पनि विद्यालयजस्तै विद्याको मन्दिर सरह नै हुने गर्दछ। तर हालसालै (लगभग ३/४ बर्ष अवधि)को केहि प्लस टु सम्बन्धि घटना र यिनका रिपोर्ट हेर्ने हो भने अब प्लस टु उच्च शिक्षाको आधार होइन बंक संस्कृति, लागुऔषध प्रयोग र अपराधको आधार बन्दै गरेको देखिन्छ। शिक्षाविद्हरूका बुझाइमा पनि विद्यालयको शैलीमा सिकाइ प्रक्रियाका कारण प्लस टु शिक्षाले जुन आधारमा शिक्षण सिकाइलाई सरल बनाएको छ, प्लस टुसँगै आएका विकृतिले पुस्ता नै बदनाम हुने खतरा पनि उत्तिकै छ।

गत वर्ष नै ट्राफिक प्रहरीले प्लस टुका विद्यार्थीलाई लक्षित गरेर विभिन्न प्वाइन्टमा थालेको छड्के जाँचमा पनि असुरक्षित ढंगले ओभरटेक गर्ने, तीव्र गतिमा मोटर साइकल चलाउने विना लाइसेन्स सवारी चलाउने पनि अधिकांश प्लस टुकै विद्यार्थी थिए। यस्ता समाचार सार्वजनिक भएपछि प्लस टु सञ्चालकले कलेजमा बाइक लान नपाइने जस्ता नियम लगाएर असुरक्षित ड्राइभिङ निरुत्साहित गराए पनि केहि कलेजले भने यसतर्फ खासै ध्यान दीएका छैनन् । कारण स्पस्ट नै छ कलेजमा विद्यार्थी घट्ने डर ।
दसवर्षे स्कुले शिक्षा पार गरेका २ लाख ३० हजार विद्यार्थी उच्च शिक्षाका लागि प्लस टु कलेज पढ्ने तरखरमा रहेकामध्ये केही प्रतिशत विद्यार्थीबाहेक ठूलो संख्याका विद्यार्थीहरू भने उच्च शिक्षाका लागि आफ्नो गाउँसहर, विद्यालय र साथी सर्कल छाडेर जानेछन। तब नयाँ ठाउँ, नयाँ साथीहरुको संगतसंगै लागुऔषधको प्रयोग गर्ने लत लग्न सक्छ, किनकि जसरि एउटा कुहेको आलुले सबै आलुलाई कुहाउछ ठिक त्यसै गरि एकजना दुर्व्यसनीले कयौं विद्यार्थीहरुलाई आफूजस्तै बनाउन सक्छ।लागु औषधका विक्रेताहरू सुरुमा विद्यार्थीसँग जे समस्या छ, त्यो समस्याको समाधान यही हो भन्दै लागु औषध खुवाउँछन्। लागु औषध महँगो भए पनि यसका विक्रेताले सुरुमा निःशुल्क खुवाइदिन्छन्। यसको लत लागेपछि उसले कुनै हालतमा पैसा जुटाउँछ। किनकि दुर्व्यसनमा फसेपछि उम्किन सहज छैन।
डेढ वर्षअघि काठमाडौंका गोल्डेनगेट कलेजको कक्षा ११ मा पढ्ने एक किशोरले गर्लफ्रेन्डसँगै पढ्नका लागि आफ्नै अपहरणको नाटक गरेको रहस्य खुल्यो। बाबुले मोटर साइकल नकिनिदिएको झोंकमा सिनामंगलका पोखरेल थरका एक किशोरले साथीको सहयोग लिएर अपहरणको नाटक गरेर आफ्नै खातामा पैसा हाल्न लगाए। यी मात्रै हैनन् प्लस टु पुस्तामा आएका विकृतिहरुमा मिनी स्कर्ट नभएको कलेज नपढ्ने, बाइक नभई नहुने, गर्ल फ्रेन्ड/ब्वाई फ्रेन्ड हुनैपर्ने र नहुनु प्रतिष्ठाको विषय बन्ने जस्ता चिन्तनको सुरुआत हुने , कपाल पाल्ने, कानमा मुन्द्री लगाउने, प्रेमका नाममा जन्मिने यौन विकृति र उच्छृंखलता, लागु औषध दुर्व्यसन, कक्षा हाप्ने (बंक गर्ने)संस्कृति पनि हुन्। सहरी क्षेत्रका अधिकांश कलेज वरपरका चिया घरमा नियाल्दा पनि कलेज ड्रेसमै युवायुवती धूमपानमा मग्न देखिन्छन्। नेपाली समाजमा बढ्दो मदिराको संस्कृतिले पनि किशोरकिशोरीहरूलाई आकर्षित गर्दै लगेको छ। कलेज पोशाकमै धाउने प्लस टुका विद्यार्थीबाटै राजधानीका धेरै फिल्म हल चलेका छन्।
नकारात्मक परिस्थिति झल्काउने यी उदाहरण प्लस टु शिक्षा पुस्तासँगै हुर्किएका विकृतिका तस्बिर हुन्।
सन्दर्भ सामग्री: नागरिकन्युजडटकम
0 comments:
Post a Comment
कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |