Sunday, July 22, 2012

विश्व हल्लाएका सात हत्या काण्डहरु

सफलताको शिखरमा पुगे पनि केही मानिस बारम्बार आलोचित भइरहन्छन् । त्यति मात्र होइन, केही मानिस त आलोचित हुँदाहुँदै मृत्युको सिकार पनि बन्न पुग्छन् । यसमा दुईथरी दृष्टिकोण पाउन सकिन्छ । एकथरि मान्छे भन्छन्, अर्को मान्छेको सफलता हेर्न नसक्ने भएकाले इगो तथा ईष्र्याका कारण सो मानिसको मृत्यु भएको हो । अर्काथरी मान्छे भने ती सफल मान्छेको बारेमा धेरै नकारात्मक टिप्पणी गर्दै उनीहरूका विभिन्न कमजोरी फेला पार्छन् र उनीहरूलाई मृत्युदण्डको सजाय दिनु ठीकै हो भन्ने धारणा राख्छन् । तर, जे भए पनि हाम्रो समाजमा त्यस्ता केही मानिस छन्, जो अर्काको प्रगति देख्न सक्दैनन् । उनीहरूलाई आफ्नो असफलताले थिचिरहेको हुन्छ । यसैको फलस्वरूप विभिन्न सांगठनिक रूपमा उनीहरू आपराधिक कामतर्फ उन्मुख हुन्छन् । कहिलेकाहीँ उनीहरूको सिकार हुन्छन्, समाजमा स्थापित भएका र नाम कमाएका मानिस ।
विश्व इतिहासमा यस्ता कैयौँ उदाहरण छन् । विशेषगरी राजनीति वा अन्य सामाजिक क्षेत्रमा सफद्दल भएका व्यक्तिको हत्याले विश्व हल्लाएको छ । अलग राजनीतिक विचार भएर मात्र उनीहरूको हत्या भएको भने नहुन सक्छ । विशेषतः हत्या गरिनुको खास कारण पनि खुल्न सकेको छैन । विश्वचर्चित केही मानिसको हत्याका कारण नै थाहा नभए पनि ती हत्याले भने विश्व हल्लाउन सफल भए ।
सन् १९७७ मा भएको एक हत्याले विश्वमा ठूलो हलचल ल्याएको थियो । अमेरिकाका हत्यारा एन्ड्रयु कुनाननले गरेको सो हत्याका सिकार थिए जिआनी भर्सेस । विश्वकै प्रसिद्ध फेसन हाउस भर्सेसका संस्थापक जिआनीलाई गोली हानेर हत्या गरिएको थियो । उनलाई दुई गोली लागेको थियो, एउटा घाँटीमा र अर्को अनुहारको बीच भागमा । उनको हत्या भएको केही समयपछि कुनाननले आफूलाई पनि सोही पेस्तोलले गोली हानेका थिए । भर्सेसको हत्या गर्नेबित्तिकै आफ्नो पनि हत्या गरेका कुनाननले किन भर्सेसको हत्या गरियो भन्नेबारे केही भन्न सकेनन् । यसका कारण १५ जुलाई १९७७ मा भएको भर्सेसको हत्या आजसम्म पनि रहस्यको गर्भमा नै छ ।
विश्वमा धेरै चर्चा गरिएका हत्यामध्ये बेनजिर भुट्टोको हत्या पनि एक हो । पाकिस्तानमा प्रजातन्त्र ल्याउनका लागि ठूलै योगदान दिएकी बेनजिरको हत्या २७ डिसेम्बर २००७ मा भएको थियो । पाकिस्तान पिपुल्स पार्टीको आमसभामा कार्यकर्तालाई सम्बोधन गर्दागर्दै उनलाई एक विद्रोही समूहले गोली हानेको थियो । लिक्वायट नेसनल बाघमा बम पनि पड्काइएको थियो । गोली लागेपछि बेनजिरलाई अस्पताल त दौडाइयो तर उनलाई डाक्टरले मृत घोषित गरे ।

भारतलाई बिटि्रसको उपनिवेशबाट स्वतन्त्रता दिलाउने भारतका महान् नेता मोहनदास करमचन्द गान्धी पनि हत्याको सिकार भएका थिए । ३० जनवरी १९४८ मा नाथुराम गोड्सेले उनको हत्या गरेका थिए । स्वचालित पेस्तोलको सहयोगले नाथुरामले गान्धीलाई तीनपटक गोली हानेका थिए । गान्धी एउटा प्रार्थनासभामा भाग लिन जाँदै गर्दा उनीमाथि २-३ फिटको दूरीबाट गोली बर्साइएको थियो ।

हत्या गरिएका अर्का चर्चित व्यक्ति हुन् जोन लेनन । द बिटल्स ब्यान्डका सहसंस्थापक जोन लेननलाई मार्क डेभिडले ८ डिसेम्बर १९८० मा हत्या गरेका थिए । जोनलाई उनको घरअगाडि गाडीमा हत्या गरिएको थियो । उनलाई मार्कले पाँच गोली हानेका थिए । जोन लेनन विश्वप्रसिद्ध रक गायक हुन् । उनलाई म्याग्नेटिक सिंगर भनेर पनि चिनिन्छ । संगीतमा विश्वचर्चित बनेका जोन लेननको हत्या भएको झन्डै चार वर्षपछि ३१ अक्टोबर १९८४ मा अर्को एक हत्याले विश्वमा सनसनी फैलायो । 
विश्वमै सफल प्रधानमन्त्रीमध्ये मानिएकी भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको भने उनकै अंगरक्षकले गोली हानेर हत्या गरेका थिए । उनलाई आफ्नै दुई अंगरक्षकले पाँच गोलीले हानी हत्या गरेका थिए । गोली लागेको पाँच घन्टासम्म जीवित उनको दिल्लीको एम्स अस्पतालमा मृत्यु भएको थियो ।

विश्वका अर्का चर्चित नेता मार्टिन लुथर किङ जुनियरको पनि १९६८ मा हत्या भएको थियो । अफ्रीकामा जातीय भेदभावविरुद्ध लडेका मार्टिन नोबेल पुरस्कारद्वारा सम्मानित पनि थिए । उनको हत्या जेम्स इर्ल रेले गरेका थिए । मार्टिन सेन्ट जोसेफ अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको थियो ।
 
अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्याले पनि २२ नोभेम्बर १९६३ मा विश्वमा सनसनी फैलायो । उनलाई लि हार्वे ओसवाल्डले 'सुट' गरेका थिए । डल्लासमा कारगेटमा रहेका वेला जोन एफ केनेडीको हत्या गरिएको थियो । केनेडीको शरीरको पछाडि एउटा मात्र गोली लागेको थियो । त्यही एउटा गोली नै केनेडीको जीवनयात्रा रोक्न सफल भयो ।

तर, केनेडी नै हत्या गरिएका पहिलो अमेरिकी राष्ट्रपति भने होइनन् । १८६५ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको हत्या भएको थियो । तर, उनको हत्या गर्ने मान्छे पनि एक अमेरिकी सेलिब्रेटी नै थिए । लिंकन हत्या भएको क्षण 'आओर अमेरिकन कजन' हेरिरहेका थिए । उनलाई टाउकोपछाडि गोली लागेको थियो । सिकिस्त घाइते भएका लिंकनको भोलिपल्ट बिहान उपचारकै क्रममा मृत्यु भयो ।
तर, विश्वको चर्चित हत्यामध्येको एक जुलियस सिजरको हत्या भने ईसापूर्व ४४ मार्च १५ मा भएको थियो । सिजर थियटरमा नाटक हेरिरहेका वेला मारिएका थिए । उनको पेटमा २३ पटक छुरी रोपिएको थियो । छुरी रोपेको केही समयपश्चात् उनको मृत्यु भयो ।
प्रस्तुति : शिखर घिमिरे
Source : nayapatrika.com

Saturday, July 21, 2012

कमजोर राज्य बलिया अपराधी

राजनीतिज्ञहरूले भौगोलिक अवस्थितिका कारण नेपालको सामरिक महत्वलाई जतिसुकै बढाइचढाइ गरे पनि अन्ततः यो देश अन्तर्राष्ट्रिय अपराधी समूहका लागि सुरक्षित भूमि बन्दै छ। दक्षिण र दक्षिणपूर्वी एसियामा सक्रिय अपराधीका लागि नेपालको दुर्गम भूगोल अपराधको सुगम निकास बन्न थालेको छ। फर्जी पासपोर्ट, जाली नोट, नियोजित अपहरण र निर्मम हत्याका अनेकन घटनाको मूक दर्शक बनेको छ, नेपाली सुरक्षा संयन्त्र। सरकारलाई धेरै विषयको जानकारी छ। तै पनि, कुन्नि कुन बाध्यताले हो, अन्तर्राष्ट्रिय स्तरका अपराधको त कुरै छाडौँ, स्थानीय स्तरका अपराध नियन्त्रणमा समेत सुरक्षा संयन्त्र प्रभावहीन देखिएको छ। किन हुन्छ यस्तो? नेपाली अपराध साहित्यको पहिलो पुस्तक 'ओपन सेक्रेट'का लेखक केपी ढुंगानाको विश्लेषण र विवरण :

स्पेस टाइमका मालिक जमिम शाहको हत्या योजनाका रचनाकार तथा निर्देशक त्रिलोक सिंहले इस्लामिक संघका महासचिव फैजान अहमदको हत्याको 'सुपारी' दिएर अमित पललाई काठमाडौँ पठाए। सार्प सुटर मोहम्मद वकार सैयद र केही नेपालीको सहयोगमा जमिमको हत्या गराएर सहजै भारत पुगेका उनले नया" दिल्लीमा बसीबसी फैजानको हत्या गराएका थिए।

नेपाल प्रहरीले भारतीय अन्डरवर्ल्डका सदस्य त्रिलोक सिंहलाई फरार अपराधीको सूचिमा राखेको छ। यस्ता अपराधी आफ्नै देशमा समेत खुलमखुला हिँड्न हच्किन्छन्। तर, त्रिलोक आफ्नो मुलुकमा मात्रै होइन, भारतसँगको सीमावर्ती कपिलवस्तुको कृष्णनगर बजारसम्म सहज रूपमा आउने जाने गर्थे र सुरक्षित भारत फर्किन्थे। नेपाल प्रहरीका उच्च अधिकारीसँग राम्रो हिमचिम थियो उनको। काम विशेषले दिल्ली पुगेका नेपाल प्रहरीका अधिकृतहरूले त्रिलोकबारेका सूचना काठमाडौँ पठाउँथे। तर, ती सूचनाहरूको उपयोग कहिल्यै भएन। एक देशमा जघन्य अपराध गरेर अर्को देशमा भागेकालाई पक्रिएर कानुनी कारबाहीको दायरामा ल्याउने अन्तर्राष्ट्रिय कानुनी प्रावधान भए पनि यसका लागि नेपाली प्रहरीले कहिल्यै चासो राखेन।
अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सदस्य भएकाले नेपालले आफ्नो देशमा अपराध गरेर अन्य देशमा भागेका अपराधीलाई पक्रिन अन्तर्राष्ट्रिय प्रहरीको सहयोग लिनसक्छ। तर, त्रिलोकको हकमा प्रहरीले आफ्नो यो हैसियत स्थापित गर्नै खोजेन।
प्रहरी रेकर्डमा हाई-प्रोफाइल क्राइमको योजनाकार भए पनि कानुनअनुसार त्रिलोक शंकास्पद व्यक्तिमात्रै हुन्। प्रहरीको अनुसन्धान प्रतिवेदन, राय सुझाव र सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग पत्रमा उनी अपराधमा संलग्न रहेको देखाइए पनि उनीविरुद्ध मुद्दा दर्ता गरिएन। अदालती प्रक्रियामा प्रवेश नै नगरेकाले प्रहरीले त्रिलोकविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गराएर पक्राउ गराउने वा सुपुर्दगीको माग गर्ने त कुरै भएन।
प्रहरी अनुसन्धानमा बब्लु श्रीवास्तवको योजनाअनुसार त्रिलोक नेपाल आएर जमिमको हत्या गराएको प्रस्ट उल्लेख छ। प्रहरी रेकर्डअनुसार त्रिलोक भारत, बढनीस्थित मिल्स कोलोनी, नब्बे क्वाटरमा बस्ने गरेको पनि उल्लेख छ। उनले नेपालमा कपिलवस्तुको कृष्णनगर गाविस-२ बाट नागरिकता लिएको त पुष्टि नै भइसकेको छ। यसैको आधारमा जिल्ला अदालतको नियमावली २०५२ अनुसार यकिन ठेगाना खुलेकालाई अभियुक्त बनाएर सजायको मागदाबी गर्न सकिन्थ्यो।
त्रिलोकसिंह विरुद्ध मुद्दा दर्ता नगरेकोमा जमिम हत्या जाँचबुझ आयोगले असन्तुष्टि जनाउँदै पूरक अभियोग पत्र तयार गर्ने सुझाव दिएको थियो। तर, केही प्रहरी अधिकृत, सरकारी वकिल र गृहमन्त्रालयका अधिकारीहरूको स्वार्थमा पूरक अभियोग पत्र तयार गरिएन। अपराधको यस घटनालाई भारत-नेपाल सम्बन्धको संवेदनशील स्थितिसँग जोड्न खोजियो।
जमिम हत्याको करिब दुई वर्षपछि तिनै त्रिलोकले फैजानको हत्या गराए। प्रहरीले यसपटक पनि यकिन ठेगाना नखुलेको दुहाई दियो। सरकारी वकिलको कार्यालयले त्यसैको आधारमा पक्राउ परेपछि अनुसन्धान गरी मागदाबी पेस गर्ने भन्दै अदालती कारबाहीबाट पुनः उन्मुक्ति दियो त्रिलोकलाई।
गृह मन्त्रालयका अधिकारी, प्रहरी र सरकारी वकिल मिलेर क्षेत्रीय अपराधसँग जोडिएका अपराधीहरूलाई उन्मुक्ति दिएको यो पहिलो घटना होइन। भारतीय अन्डरवर्ल्डका प्रभावशाली राजन समूहका नाइके छोटा राजन र उत्तर प्रदेशका प्रभावशाली बब्लु श्रीवास्तव पनि त्रिलोकजस्तै कानुनी उन्मुक्ति पाउने भाग्यमानीमा पर्छन्।
जमिम र फैजानलगायतको मुद्दा हेर्ने एक प्रहरी अधिकारीले प्रारम्भमा यकिन ठेगाना र विवरण नै नखुल्ने र खुले पनि अभियुक्त बनाउँदा म्याद तामेली गर्न अप्ठ्यारो हुने भएकाले फरार विदेशी नागरिकविरुद्ध मुद्दा दर्ता नगर्ने गरिएको बताए। नेपालमा पक्राउ नपरेसम्म उनीहरूलाई कारबाही गर्ने अन्य आधार नभएको उनको दाबी थियो।
पक्राउ गर्न नसकिने अवस्थामा मागदाबी गरेर मुद्दा दर्ता गर्दा २० वर्षपछि कानुनअनुसार नै उसले सजायबाट उन्मुक्ति पाउने भएकाले पनि मुद्दा दायर नगरिएको ती प्रहरी अधिकारीको तर्क थियो।
अदालती प्रक्रियामा प्रवेश गरेका फरार भएका अभियुक्तलाई इन्टरपोलमार्फत पक्राउ आदेश जारी गराउन र सुपुर्दगी सन्धि भएमा पक्राउ गरी बुझाउन आग्रह गर्ने कानुनी अधिकार प्राप्त हुन्छ। तर, नेपालका सरोकारवाला गृह मन्त्रालयजस्ता निकायका अधिकारीको व्यक्तिगत स्वार्थका कारण छोटा राजन, बब्लु श्रीवास्तव र त्रिलोकजस्ता खुंखार भारतीय अपराधीलाई अन्य मुलुकमा गएर पक्राउ गर्ने कानुनी अधिकार गुम्यो।
स्वदेशमै पक्राउ नपरेका अभियुक्तलाई कानुनी कठघरामा ल्याउन आपसी समझदारी, अन्तर्राष्ट्रिय प्रहरी संगठन अथवा सुपुर्दगी सन्धिको आधारमा पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन सकिन्छ। त्यस्तो मुद्दाले अदालती प्रक्रियामा प्रवेश पाएको हुनैपर्छ। कानुनका नौ सिङ देखेकाहरूले अपराधीलाई कस्नेभन्दा फुकाउने कसरत बढी गरेकाले नेपाल जघन्य अपराधीहरूका लागि सुगम भूमिका रूपमा कुख्यात हुन थालेको छ।
उन्मुक्तिको खेल
अपराध तथ्यांकअनुसार भारतीय अन्डरवर्ल्ड डी कम्पनीका नाइके दाउद समूहबाट अलग भएर राजन समूह बनाएका छोटा राजनले नेपालमा अन्तरदेशीय अपराधको प्रारम्भ गराएका थिए, २०५५ सालमै। २०५५ असार १५ गते सिफलमा चालकसहित मारिएका मिर्जा दिलसाद वेगको हत्याको मुख्य योजनाकार छोटा राजन रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो। तर, पछि उनैले कानुनी कारबाहीबाट उन्मुक्ति पाए।
मिर्जा हत्याका मुख्य योजनाकार छोटा राजन उर्फ राजेन्द्र सदाशिव निखल्जी भारतीय राज्य महाराष्ट्रको तिलकनगरका बासिन्दा हुन्। उनका सहयोगी बब्लु श्रीवास्तव पक्राउ परी लखनऊ जेलमा रहेकाले त्यसैलाई उनको ठेगाना बनाउन सकिन्थ्यो। यसैको आधारमा मागदाबी लिएर अदालतबाट गरिने आदेशबमोजिम त्यस्ता प्रतिवादीका नाउँमा रेड कर्नर नोटिस जारी गर्ने, गराउने र अभियुक्त पक्राउ परे आवश्यक कागजात तयार पारी अदालत र परराष्ट्र मन्त्रालयतर्फबाट सुपुर्दगीको माग गर्न पनि सकिन्थ्यो।
भारतीय पत्रिका 'मिड-डे'का पत्रकार जे डेको हत्यामा छोटा राजनको संलग्नता देखिएपछि भारतीय सरकारले उनका विरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गराएको छ। तर, नेपालमा उनै राजनविरुद्धको हत्या अभियोगको मुद्दा तामेलीमा छ।
२०६३ सालमा मध्यबानेश्वरमा मारिएका कमलसिंह नेपालीको हत्यामा पनि छोटा राजन जोडिएका थिए। २०६६ माघ २४ मा भएको सञ्चार उद्यमी जमिम शाह हत्याको मुख्य योजनाकार उनका सहयोगी त्रिलोक र बब्लु देखिए। २०६८ को मध्यमा उनैका सहयोगी त्रिलोक नै मुख्य योजनाकार बनेर फैजान अहमदको हत्या गराए। तै पनि, जोगिएकै छन् उनीहरू।
नेपालीमात्रै फन्दामा
मिर्जा दिलसाद वेगदेखि फैजानको हत्यासम्म बितेको १३ वर्षको अवधिमा भारतीय अन्डरवर्ल्डसँग जोडिएका हाई-प्रोफाइल अपराधमा मुछिएका सबैलाई नेपाल प्रहरीले केवल शंकास्पदमात्रै बनाएर उन्मुक्ति दिएको तथ्य फेला परेको छ। मुद्दा खेप्ने र कारागार पुग्नेहरूमा अपराधमा सहयोगी नेपाली नागरिककै बाहुल्य छ।
मिर्जा हत्यामा संलग्न भारतीय अपराधी छोटा राजन र बब्लुसँगै ओपी सिंह, रीना अग्रवाल, राजेन्द्रप्रसाद शर्मा, रोहित बर्माको ठेगाना नखुलाउँदा उनीहरूले सहजै कानुनी कारबाहीबाट उन्मुक्ति पाए। जिल्ला अदालत काठमाडौँले पक्राउ परेका नेपाली सहयोगी सफिक महमद खाँ, सुरेन्द्र भण्डारी र सतीश गौतमलाई मात्रै दण्ड दियो।
जमिम हत्या अभियोगमा पक्राउ परेका नेपाली नागरिक प्रकाश क्षत्री, किशोर खड्का र लक्ष्मण धमला यतिबेला पुर्पक्षका लागि थुनामा छन्। फरार नेपाली नागरिक जगदीश चन्द्र र श्रीकृष्ण पौडेल इन्टरपोलको रेड कर्नरमा परिसकेका छन्।
तर, हत्यामा संलग्न भारतीय नागरिक मोहम्मद वकार सइद पनि कानुनी चलखेलका कारण जोगिएका छन्। अनुसन्धानको क्रममा फेला परेको सइदको चालक अनुमतिपत्रबाट उनको ठेगाना खुलेको थियो। यसको आधारमा उनलाई सहजै अभियुक्त बनाएर सजायको मागदाबी गर्न सकिन्थ्यो। तर, त्यसो भएन। सुनिल सिंह, दादु सरजीहरूको त यकिन विवरणसमेत खुल्न सकेन।
कमल सिंह नेपालीको हत्या अनुसन्धान नै पूर्ण हुन सकेन। शौकत वेग र मजिद मनिहार हत्याको अनुसन्धान पनि कमलको भन्दा फरक रहेन। युनुस अन्सारी हत्या प्रयासमा संलग्न भारतीय नागरिक मनमित सिंह भाटिया कसो पक्राउ परे। अन्य सहयोगी भने अहिलेसम्म फरार छन्।
२०६८ असोज ९ मा भएको फैजान हत्यामा संलग्न देखिएका भारतीय नागरिक आदित्य पल र फाहद आलमविरुद्ध पनि अभियोग पत्र दर्ता भएन। सामान्य सहयोगी नेपाली नागरिक धनबहादुर थापा मगर भने अभियुक्तको रूपमा पुर्पक्षका लागि कारागारमा छन्।
आयोगको सुझाव रद्दी
ठेगाना खुलेकालाई मुख्य अभियुक्त बनाएर अदालती प्रक्रियाद्वारा रेड कर्नर नोटिस वा आपसी समझदारी र सुपुर्दगी सन्धिमार्फत अभियुक्तलाई कारबाहीका दायरामा ल्याउन सहज नहुने होइन। अदालती प्रक्रियाको अभावमा इन्टरपोललगायतका अन्य अन्तर्राष्ट्रिय कानुनी दायरामा ल्याउन भने कठिन हुन्छ।
जमिम हत्या अनुसन्धानका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले यही तथ्यमा टेक्दै जिल्ला अदालतको नियमावली २०५२ को व्यवस्थाअनुसार त्रिलोक र मोहम्मद वकारको ठेगाना प्रस्ट खुलेकाले पूरक अभियोग पत्र लैजान सुझाएको थियो। सरकारले गोप्य राखेको जमिम हत्या जाँचबुझ आयोगले भारततिरै फरार भई लुकिछिपी बसेका भारतीय र भारततिरै पसेका नेपाली अभियुक्तलाई छिमेकी मुलुकका प्रहरी अधिकारीहरूसँग परम्परागत रूपमा र आपसी समझदारी तथा सहयोगको आधारमा तिनको ठेगाना पत्ता लगाई पक्राउ गर्ने सुझाव दिएको थियो।
फैजान हत्या अनुसन्धानको निचोड निकाल्दै केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीले फैजान हत्या अन्तरदेशीय अपराध भएको ठोकुवा गर्दै हत्याका मुख्य योजनाकार त्रिलोक रहेको दाबीसहित हत्याका सहयोगी र त्रिलोकबीचको वार्तालापसमेत सार्वजनिक गरेको थियो।
आयोगको सुझावअनुसार जमिम हत्यामा पूरक अभियोग पत्र दर्ता त भएन नै, आफ्नै अनुसन्धानमा त्रिलोकको प्रस्ट ठेगाना खुल्दाखुल्दै पनि प्रहरीले त्रिलोकलाई फैजान हत्यामा समेत अदालती कारबाहीबाट उन्मुक्ति दियो। यी घटनाका लागि सुरक्षा संयन्त्रलाई मात्रै दोष दिनु अन्याय हुनेछ। पछिल्लो समयमा नेपाली राजनीति र अन्तरदेशीय अपराधीहरूका बीच खडा भएको नेक्सस सरकारभन्दा शक्तिशाली छ। यो नेक्सस नटुुटेसम्म नेपाल अन्तरदेशीय अपराधीको स्वर्गका रूपमा रहिरहनेछ। राजनीतिको प्रमुख उद्देश्य नै जसरी-तसरी पैसा कमाउनु भएपछि देश भड्खारोमा पर्नु स्वाभाविकै हो। द्वन्द्वग्रस्त समाजमा राजनीतिलाई अपराधको प्रभावबाट जोगाउन सकिएन भने त्यसले देशलाई धेरै ठूलो क्षति गर्छ। आजको अस्थिर राजनीतिको मुख्य कारण पनि यही नै हो।


 
को कहाँ मारिए?
नाम : मिर्जा दिलसाद वेग
मिति : २०५५ असार १५ गते
स्थान : सिफल
तत्कालीन सांसद मिर्जा दिलसाद वेग निजी गाडीमा चालकसहित कान्छी श्रीमती भेट्न जाँदै गर्दा एक्कासि उनीमाथि गोली प्रहार भयो। उनी हुत्तिएर ४० फिट पश्चिम पुगेर ढले। बा.अ.ञ ७६५९ नम्बरको सेतो रङको टोयोटा कोरोलामा चालक भुवन कार्कीको समेत हत्या भयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् तथा पूर्वमन्त्री वेग ०४८ सालको आमनिर्वाचनमा नेपाल सद्भावना पार्टीबाट सांसद् निर्वाचित भएका थिए। ०५१ सालमा राप्रपा प्रवेश गरेका उनी फेरि सांसद् हुँदै मन्त्री पनि बनेका थिए। उनको हत्यामा भारतीय अन्डरवर्ल्डका नाइके छोटा राजन र बब्लु श्रीवास्तवको नाम जोडियो। हत्यामा संलग्न नेपाली नागरिकमात्रै पक्राउ परे।

नाम : कमलसिंह नेपालीमिति : २०६३ भदौ २४
स्थान : मध्यबानेश्वर
डेराबाट एकै छिन है भन्दै बाहिरिएका कमल सिंह नेपालीमाथि गोली हानियो। लामो समय मलेसियामा बसेर फर्किएका उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भयो। अनुसन्धानमा उनको हत्यामा पनि मुम्बई अन्डरवर्ल्डको समूह डी कम्पनी र छोटा राजनको संलग्नता देखियो। तर, हत्यामा संलग्न कोही पक्राउ परेनन्।
नाम : मजिद मनिहार

मिति : २०६६ असोज १९
स्थान : नेपालगञ्ज, लालिगुराँस होटल, न्युरोड
भारतबाट भेट्न आएका साथीसँग होटल छिरेका मजिद मनिहार उम्कन पाएनन्। भारत, उत्तर प्रदेश, बहराइचका उनी २० वर्षभन्दा बढीदेखि नेपालगन्जको बागेश्वरी टोलमा बस्दै आएका थिए। आफूलाई भेट्न आएको बताएका पाहुनालाई लालिगुराँस होटलमा भेट्न गएका उनको शव होटलको कोठामा फेला पर्‍यो। उनको हत्यामा पनि भारतीय अपराधीको नाम जोडियो। तर, कोही पक्राउ परेनन्।


नाम : सौकत वेग

मिति : २०६६ पुस ९
स्थान : बुटवल, मैनावगर
मैनावगरको अशोका मोटर्स पार्ट्समा गाडी बनाउन श्रीमतीसहित गएका सौकत वेग भारततिरबाट आएका परिचितसँग कुराकानी गर्दै थिए। एक्कासि गोली चल्यो। श्रीमती ग्यारेजबाट बाहिर आएर हेर्दा उनी रगताम्मे भएर सडकमा ढलेका थिए। उनलाई भेट्न आएका दुईजना मोटरसाइकलमा भाग्दै थिए। हत्याको तार भारतको उत्तर प्रदेशमा गएर जोडियो। तर, कोही पक्राउ परेनन्।
नाम : जमिम साह
मिति : २०६६, माघ २४
स्थान : लाजिम्पाट
घर फर्कँदै गरेका सञ्चार उद्यमी जमिम साह आफ्नै गाडीमा चालक मथुरा मालाकारसँगै सवार थिए। मोटरसाइकलमा आएका दुई जनाले उनीमाथि गाडीभित्रै आक्रमण गरे। गोली लागेर घाइते भएका दुवैलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइयो। मालाकार बाँचे। जमिम मृत घोषित भए। हत्यामा बब्लु श्रीवास्तव, त्रिलोक सिंह, मोहम्मद वकार सैयदको नाम जोडिए। तीन जना नेपाली सहयोगी पक्राउ परे। भारतीय र दुई नेपाली फरार भए।

नाम : फैजान अहमद
मिति : २०६८, असोज ९
स्थान : घण्टाघर
इस्लामिक संघका महासचिव फैजान अहमद मध्याह्नको प्रार्थना सकाएर कार्यालय फर्कँदै गर्दा घण्टाघरमा ढालिए। सिमसिम पानी परेको समयमा रेनकोट लगाएर आएका दुई जनाले उनीमाथि अन्धाधुन्द गोली चलाए। वीर अस्पताल पुर्‍याइएका उनको ज्यान जोगिएन। उनको हत्याको तार जमिमका हत्यारा त्रिलोक सिंहसँग जोडियो। सहयोगी एक नेपाली पक्राउ परे। पुराना घटनामा झैँ भारतीय नागरिक जोगिए।
भाग्यमानी युनुस
२०६७ फागुन २६ मा केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीमाथि कारागारभित्रै हत्या प्रयास भयो। जाली भारतीय नोट कारोबारमा संलग्न र खैरो हेरोइनको कारोबारसमेत गरेको अभियोगमा सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएका युनुसमाथि बन्दी भेटघाट कक्षमै पुगेर गोली हानेका थिए, भारतीय नागरिक मनमित सिंह भाटियाले। सिंहले कारागारको सुरक्षा छिचोल्दै बन्दी भेटघाट कक्षसम्म हतियार पुर्‍याए र अन्सारीमाथि गोली हाने। धन्न गोलीले कुम छोएर गयो र युनुस बाँचे। यो पहिलो आक्रमण थिएन उनीमाथि। यसअघि पनि पटक-पटक हत्या प्रयास भइसकेको थियो। प्रहरी अनुसन्धानले सबै आक्रमणमा भारतीय अपराधीकै संलग्नता देखायो। बाहिर रहेका भए सायद जमिमअघि नै उनी मारिने थिए। त्यसअघि नै अन्सारीलाई मार्ने योजना बनेको अनुसन्धानले देखायो। योजना कार्यान्वयन हुन नपाउँदै युनुस २५ लाख जाली भारु र साढे तीन किलो खैरो हेरोइनसहित पक्राउ परेर थुनामा परेकाले जोगिए।



 



२०५५ देखि २०६८ सालसम्मका सात अन्तरदेशीय अपराधका नालीबेली समेटिएको किताब 'ओपन सेक्रेट' फाइन प्रिन्टले साउन ११ गते बजारमा ल्याउँदै छ।





Wednesday, July 11, 2012

ज्ञानेन्द्र फर्कन सक्छन् : नेतृ हिसिला

काठमाडौं, असार २६ (नागरिक)- एकीकृत नेकपा माओवादीकी पोलिटब्यूरो सदस्य हिसिला यमीले पूर्व राजा ज्ञानेन्द्र शाह फर्कनसक्ने बताएकी छिन्। रिपोर्टर्स क्लबमा बोल्दै प्रधान मन्त्री पत्‍नीसमेत रहेकी यमीले दलीय प्रणाली असफलतातिर बढेकाले ज्ञानेन्द्र फर्कनसक्ने भन्दै शतर्क हुन आग्रह गरिन्।

'दलीय प्रणाली असफलतातिर बढ्दैछ, असफल भए ज्ञानेन्द्र फर्कनसक्छन्,' यमीले भनिन्,'बूढी मरी भन्दा काल पल्केला भन्ने डर भइसक्यो।'

दलहरु सत्ताको लुछाचुडी गर्दा पूर्वराजालाई फाइदा पुगिरहेको उनको टिप्पणी थियो।

'ज्ञानेन्द्रबाट चेतावनी आइसक्यो, अझै सचेत हुनुभएन भने फर्कन्छन्।' प्रधानमन्त्री भट्टराई तानाशाह आउनसक्ने खतरालाई रोक्न जिम्मेवारीका साथ प्रस्तुत भइरहको बताइन्।
Source: Nagariknews.com

Monday, July 9, 2012

त्यसैले पनि नारायणहिटी सजिलैसंग छोड्या हो

ज्ञानेन्द्र शाह, पूर्व राजा
न्यूज २४ का लागि प्रेम बानियाँले लिएको अन्तरवार्ता ।

यहाँको तीन जिल्लाको पाँच दिने भ्रमण कस्तो रह्यो ?
सबैभन्दा पहिले त प्रचण्ड गर्मी भयो सबैलाई जस्तो लाग्या छ । त्यसपछि जनताबाट जहाँ गयौं हामी धेरै आत्मीयता पाएको छु । अँ….अहिलेसम्म मैले यसो अनुभव गर्दा खेरी सफलै भएको जस्तो लाग्छ । मेरो उद्धेश्य यहाँका सर्वसाधारण, दाजू, भाई, दिदी बहिनीले नै निम्तो गरेर शक्ति पीठहरु, मन्दिरहरु र उहाँहरुको माझ आउनलाई निम्तो गरेको हो । त्यो मैले गर्न पाएं । सफलताका साथ भएको जस्तो लाग्छ, त्यसैले यो भ्रमण सबैको प्रयासले राम्रो भएको छ ।
हामीलाई पनि खुसी के लाग्या छ भनेः अँ धेरैलाई भेट्न पाएं । धेरैसंग कुरा गर्न पाएं, सबैजनासंग कुरा गर्न पाएं । सबैजना आइदिनु भएकोमा उहाँहरुलाई मेरो धन्यवाद पनि छ ।
यो तीन जिल्लामा भएको हरेकजसो जमघटमा धार्मिकस्थलमा गुञ्जिएको आवाज थियो कि हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ भन्नेहरुलाई यहाँले के भन्नु हुन्छ ?
त्यो विचारलाई पनि हामीले कदर गर्नुपर्छ जस्तो लाग्यो । रहेछ भन्ने स्पष्ट भयो । पश्चिमाञ्चलमा मात्र होइन हामी जहाँ गएपनि यो आवाज सुनेको र गुञ्जेको होइन, उता अरु ठाउँमा पनि यस्तै कुरा सुनेकै हो । अब त्यसलाई प्रजातान्त्रिक ब्यवस्थामा सबैको बोल्ने, भन्ने र प्रकट गर्ने अधिकार हुन्छ । यो पनि एक समूह छ भनेर सबैले मान्नु पर्छ ।

Tuesday, July 3, 2012

आखिर के त्यस्तो लिखित सहमति भएको थियो त राजसंस्था र दलहरुबीच ?


सुत्रहरुको कुरालाइ मान्ने हो भने राजनीतिक पार्टीहरुले राजतन्त्र पुनर्स्थापनाकै लागि संबिधान सभालाई कमाऊ कार्यका लागि उपयोग गरे पनि संबिधान सभा भंग गरेका हुन् । यस कुरालाई बल पुर्याउदै ज्ञानेन्द्र शाहले पत्रकार सम्मेलनमार्फत नै राजतन्त्र नयाँ शक्तिको रुपमा उदाउने घोषणा गरेका छन् ? हजुर संबिधान सभाको अन्त्यपछि देशको हालत र जनताका प्रतिक्रिया बुझ्न पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहेका पुर्व राजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन् । रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलनमार्फत पुर्व राजा ज्ञानेन्द्र शाहले नागरिकले नयाँ शक्तिको खोजी गरिरहेको भन्दै नागरिकले चाहे आफु त्यो शक्तिको नेतृत्व गर्न तयार रहेको र नागरिकले चाहे राजसंस्था नयाँ शक्तिको रुपमा उदाउन सक्ने पनि बताएका छन् ।

Sunday, July 1, 2012

सफलताको रहस्य: भाग १ (श्रम)

श्रम भन्नाले सामान्यतया कामलाई बुझाउँछ | श्रमलाई विभिन्न पुस्तकमा विभिन्न तरिकाबाट परिभाषित गरेको पाइन्छ | अनलाइनमा wikipedia.org ले श्रमलाई यसरि परिभाषित गरेको छ : Labour or Labor may refer to: Employment Employment of any kind Manual labour, physical work done by people Wage labour, delivery of services by person for payment