Sunday, July 22, 2012

विश्व हल्लाएका सात हत्या काण्डहरु

सफलताको शिखरमा पुगे पनि केही मानिस बारम्बार आलोचित भइरहन्छन् । त्यति मात्र होइन, केही मानिस त आलोचित हुँदाहुँदै मृत्युको सिकार पनि बन्न पुग्छन् । यसमा दुईथरी दृष्टिकोण पाउन सकिन्छ । एकथरि मान्छे भन्छन्, अर्को मान्छेको सफलता हेर्न नसक्ने भएकाले इगो तथा ईष्र्याका कारण सो मानिसको मृत्यु भएको हो । अर्काथरी मान्छे भने ती सफल मान्छेको बारेमा धेरै नकारात्मक टिप्पणी गर्दै उनीहरूका विभिन्न कमजोरी फेला पार्छन् र उनीहरूलाई मृत्युदण्डको सजाय दिनु ठीकै हो भन्ने धारणा राख्छन् । तर, जे भए पनि हाम्रो समाजमा त्यस्ता केही मानिस छन्, जो अर्काको प्रगति देख्न सक्दैनन् । उनीहरूलाई आफ्नो असफलताले थिचिरहेको हुन्छ । यसैको फलस्वरूप विभिन्न सांगठनिक रूपमा उनीहरू आपराधिक कामतर्फ उन्मुख हुन्छन् । कहिलेकाहीँ उनीहरूको सिकार हुन्छन्, समाजमा स्थापित भएका र नाम कमाएका मानिस ।
विश्व इतिहासमा यस्ता कैयौँ उदाहरण छन् । विशेषगरी राजनीति वा अन्य सामाजिक क्षेत्रमा सफद्दल भएका व्यक्तिको हत्याले विश्व हल्लाएको छ । अलग राजनीतिक विचार भएर मात्र उनीहरूको हत्या भएको भने नहुन सक्छ । विशेषतः हत्या गरिनुको खास कारण पनि खुल्न सकेको छैन । विश्वचर्चित केही मानिसको हत्याका कारण नै थाहा नभए पनि ती हत्याले भने विश्व हल्लाउन सफल भए ।
सन् १९७७ मा भएको एक हत्याले विश्वमा ठूलो हलचल ल्याएको थियो । अमेरिकाका हत्यारा एन्ड्रयु कुनाननले गरेको सो हत्याका सिकार थिए जिआनी भर्सेस । विश्वकै प्रसिद्ध फेसन हाउस भर्सेसका संस्थापक जिआनीलाई गोली हानेर हत्या गरिएको थियो । उनलाई दुई गोली लागेको थियो, एउटा घाँटीमा र अर्को अनुहारको बीच भागमा । उनको हत्या भएको केही समयपछि कुनाननले आफूलाई पनि सोही पेस्तोलले गोली हानेका थिए । भर्सेसको हत्या गर्नेबित्तिकै आफ्नो पनि हत्या गरेका कुनाननले किन भर्सेसको हत्या गरियो भन्नेबारे केही भन्न सकेनन् । यसका कारण १५ जुलाई १९७७ मा भएको भर्सेसको हत्या आजसम्म पनि रहस्यको गर्भमा नै छ ।
विश्वमा धेरै चर्चा गरिएका हत्यामध्ये बेनजिर भुट्टोको हत्या पनि एक हो । पाकिस्तानमा प्रजातन्त्र ल्याउनका लागि ठूलै योगदान दिएकी बेनजिरको हत्या २७ डिसेम्बर २००७ मा भएको थियो । पाकिस्तान पिपुल्स पार्टीको आमसभामा कार्यकर्तालाई सम्बोधन गर्दागर्दै उनलाई एक विद्रोही समूहले गोली हानेको थियो । लिक्वायट नेसनल बाघमा बम पनि पड्काइएको थियो । गोली लागेपछि बेनजिरलाई अस्पताल त दौडाइयो तर उनलाई डाक्टरले मृत घोषित गरे ।

भारतलाई बिटि्रसको उपनिवेशबाट स्वतन्त्रता दिलाउने भारतका महान् नेता मोहनदास करमचन्द गान्धी पनि हत्याको सिकार भएका थिए । ३० जनवरी १९४८ मा नाथुराम गोड्सेले उनको हत्या गरेका थिए । स्वचालित पेस्तोलको सहयोगले नाथुरामले गान्धीलाई तीनपटक गोली हानेका थिए । गान्धी एउटा प्रार्थनासभामा भाग लिन जाँदै गर्दा उनीमाथि २-३ फिटको दूरीबाट गोली बर्साइएको थियो ।

हत्या गरिएका अर्का चर्चित व्यक्ति हुन् जोन लेनन । द बिटल्स ब्यान्डका सहसंस्थापक जोन लेननलाई मार्क डेभिडले ८ डिसेम्बर १९८० मा हत्या गरेका थिए । जोनलाई उनको घरअगाडि गाडीमा हत्या गरिएको थियो । उनलाई मार्कले पाँच गोली हानेका थिए । जोन लेनन विश्वप्रसिद्ध रक गायक हुन् । उनलाई म्याग्नेटिक सिंगर भनेर पनि चिनिन्छ । संगीतमा विश्वचर्चित बनेका जोन लेननको हत्या भएको झन्डै चार वर्षपछि ३१ अक्टोबर १९८४ मा अर्को एक हत्याले विश्वमा सनसनी फैलायो । 
विश्वमै सफल प्रधानमन्त्रीमध्ये मानिएकी भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको भने उनकै अंगरक्षकले गोली हानेर हत्या गरेका थिए । उनलाई आफ्नै दुई अंगरक्षकले पाँच गोलीले हानी हत्या गरेका थिए । गोली लागेको पाँच घन्टासम्म जीवित उनको दिल्लीको एम्स अस्पतालमा मृत्यु भएको थियो ।

विश्वका अर्का चर्चित नेता मार्टिन लुथर किङ जुनियरको पनि १९६८ मा हत्या भएको थियो । अफ्रीकामा जातीय भेदभावविरुद्ध लडेका मार्टिन नोबेल पुरस्कारद्वारा सम्मानित पनि थिए । उनको हत्या जेम्स इर्ल रेले गरेका थिए । मार्टिन सेन्ट जोसेफ अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको थियो ।
 
अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्याले पनि २२ नोभेम्बर १९६३ मा विश्वमा सनसनी फैलायो । उनलाई लि हार्वे ओसवाल्डले 'सुट' गरेका थिए । डल्लासमा कारगेटमा रहेका वेला जोन एफ केनेडीको हत्या गरिएको थियो । केनेडीको शरीरको पछाडि एउटा मात्र गोली लागेको थियो । त्यही एउटा गोली नै केनेडीको जीवनयात्रा रोक्न सफल भयो ।

तर, केनेडी नै हत्या गरिएका पहिलो अमेरिकी राष्ट्रपति भने होइनन् । १८६५ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको हत्या भएको थियो । तर, उनको हत्या गर्ने मान्छे पनि एक अमेरिकी सेलिब्रेटी नै थिए । लिंकन हत्या भएको क्षण 'आओर अमेरिकन कजन' हेरिरहेका थिए । उनलाई टाउकोपछाडि गोली लागेको थियो । सिकिस्त घाइते भएका लिंकनको भोलिपल्ट बिहान उपचारकै क्रममा मृत्यु भयो ।
तर, विश्वको चर्चित हत्यामध्येको एक जुलियस सिजरको हत्या भने ईसापूर्व ४४ मार्च १५ मा भएको थियो । सिजर थियटरमा नाटक हेरिरहेका वेला मारिएका थिए । उनको पेटमा २३ पटक छुरी रोपिएको थियो । छुरी रोपेको केही समयपश्चात् उनको मृत्यु भयो ।
प्रस्तुति : शिखर घिमिरे
Source : nayapatrika.com

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |