Wednesday, January 11, 2012

राष्ट्रनिर्माता र राष्ट्रवाद

दीनबन्धु अर्याल
यथार्थ इतिहास र आग्रहरहित सत्यको सम्मान गर्ने व्यक्तिहरूले नेपालको एकीकरणको प्रसङ्गमा बडामहाराज पृथ्वीनारायण शाहको नाम लिनैपर्ने हुन्छ । कतिपयले बडामहाराज पृथ्वीनारायण शाहको सालिक तोडी कास्की जिल्लामा रहेको पोखरा उप-महानगरपालिकाको पृथ्वीचोकको नाम बदलेर लखन चोक राख्न लखन थापाको सालिक जडान गराएका थिए । जनजिब्रोमा भने पृथ्वीचोक नै कायम रहृयो । गुरुपुरोहित ज्योतिषी, ब्राहृमणहरूको यथोचित परामर्शमा राजकाजमा क्षेत्री, गुरुङ, मगर, राई, लिम्बू, नेवार, थकाली, थारू, शेर्पा, तामाङ आदि विभिन्न जातजातिको सेवा र सहयोग लिन पाउँदा बडामहाराज सफल भएको तथ्य उनकै मुखबाट निःसृत वाक्य "नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी"ले स्पष्ट गर्दछ । मगरसँग ठकुरीको रगत मिसिएको दाबी मगरहरूले नै गर्दै आएका छन् । उनीहरूले खाण वा शाहवंशी राजाका पुर्खा खाँचा खाण र मिचा खाणको नाम मगर भाषामा रहेको प्रमाण प्रस्तुत गर्दछन् । यिनै रूप आकार र ऐतिहासिक संस्कृतिको सम्मान गरेर मगरातको राजा मैं हुँ भन्ने बडामहाराज पृथ्वीनारायण शाहले मगरहरूलाई पनि आफ्नो फूलबारीको प्रिय फूलको रूपमा ससम्मान मलजल गर्ने यथेष्ट काम गरेका छन् । बडामहाराज पृथ्वीनारायण शाह र लखन थापा दुवै देशभक्त र जनताका हितेच्छुक भएकाले परस्पर मित्रशक्तिका रूपमा अङ्कित छन् । लखन थापाप्रति नेपाली जनता कृतज्ञ छन् । नेपालको कुनै अर्को ठाउँमा लखन थापाको प्रतिमा राखेको भए जनतामा उत्साह जाग्थ्यो । कुनै ठाउँ विशेषमा एउटा देशभक्त, जनसेवीको सालिक तोडेर अर्को देशभक्तको सालिक राख्नु युक्तियुक्त भएन भन्ने मात्र जनताको चिन्तन हो ।


बडामहाराज सङ्कीर्णतावादी अथवा कठमुल्लावादी या अतिवादी हिन्दु थिएनन् । उनी असली हिन्दु थिए । हिन्दु पतिको राज्य पनि नेपालमा गाभेको र समस्त हिन्दु आदर्शको पालन गर्ने सोच अर्थात् सनातन धर्म जसभित्र वैदिक शाक्त, बौद्ध, जैन, सिख सम्प्रदायहरू पर्दछन् । ती सबैको मर्म बुझेर उनी समर्पित थिए । सुरमुनिदेखि भुसुनासम्म सबैका घटमा प्रभुको निवास छ, प्राणी मात्रमा स्नेह गर्नुपर्छ मानवतामा प्रेम र सद्भाव छर्नुपर्छ । युगधर्म, राष्ट्रधर्म, राजधर्म र कुलधर्ममा सन्तुलन मिलाउनुपर्छ व्यक्तिगत चरित्र पवित्र राख्ने मनवचन कर्ममा पारदर्शी एकता प्रस्ट पार्ने, दैवीगुण शास्त्र मर्यादाको सम्मान गर्ने यस क्षेत्रका जनताको हकहित, अस्तित्व, मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ भन्ने सोच राख्ने पृथ्वीनारायण शाहले साम्राज्यवादी फिरङ्गीहरूसँग लड्न चाहे । व्यापार र सत्ता लिन पल्केका इसाईसँग मात्र उनको मेल हुन सकेेन । असली इसाई, असली मुसलमान हिन्दुराज्यका लागि मित्रशक्ति नै हुन्थ्यो । अफि्रकी र एसियाली मुलुकमा बाइबलसँगै राइफलको बिगबिगीको रहस्य बडामहाराजले राम्ररी
बुझेका थिए ।
लखनउबाट नेपालको नुवाकोटमा आएर बडामहाराजलाई भेटी आफ्नो रणकौशलको परिचय दिने शेषजवर, मम्तकी र भेषासिं जस्ता मुसलमानलाई नेपालको सेनामा महत्त्वपूर्ण जिम्मेवारी दिन सके स्वदेशी सामानको प्रयोग गर्न स्वदेशमा उत्पादन बढाउन राष्ट्रिय एकतालाई बल पुर्‍याउन सकिन्छ भन्ने मान्यताले उनले मित्रतापूर्ण व्यवहार देखाएका थिए । उनले त्यतिबेला अरू कुनै राजाले नेपालको एकीकरणमा चासो देखाएमा आफूले सघाउने इच्छा व्यक्त गरेका थिए । काठमाडौंका राजा जयप्रकाश मल्लले बडामहाराजको एकीकरण प्रस्तावलाई राज्यविस्तारको नारा मात्र हो ठानेकाले एकीकरणको यज्ञमा बडामहाराज नै सरिक रहनुपर्ने स्थिति आयो ।
मल्लवंशी राजाहरूले बाँधेका कतिपय उपयुक्त स्थितिलाई मान्य गरी अरू थप स्थिति बाँध्ने उनको सदाशय र बिसे नगर्ची आदि जनसाधारणसँग पनि भेट गरी उनीहरूको सुझाव कार्यान्वयन गर्नु जस्ता काम हेरेर बडामहाराजको हृदय सबल, फराकिलो र विशाल रहेको मान्न सकिन्छ । देवीदेवताका पुजारीमा मगर, राई, शेर्पा र नेवारहरूलाई ससम्मान जिम्मेवारी दिएको स्थितिले सांस्कृतिक एकीकरणमा पनि उनको चेतना जागेको देखिन्छ ।
क्षमता, गुण, ज्ञान, निष्ठा जस्ता मापदण्ड र समावेशी चरित्रका सङ्गठनमा बडामहाराजको कुशलता देखिएको थियो र नेपालको सेनामा राष्ट्रिय चिन्तन प्रभावकारी बन्यो । जातीय चिन्तन हावी हुन सकेन । सैनिकलाई दिनुपर्ने सुविधा र राख्नुपर्ने अनुशासनमा बडामहाराज सचेष्ट थिए । "प्रजा मोटा भया दरबार बलियो रहन्छ । अदालतका पैसा दरबार भित्र नहाल्नु फकीर, अतिथि, योगी, सन्यासी र ब्राहृमणलाई दक्षिणा चलाउनु" भन्ने वाक्यले दरबारलाई पनि आत्मानुशासित बनाउने त्यो पनि अठारौं शताब्दीमा एउटा महत्त्वपूर्ण चिन्तन मान्नुपर्छ ।
बडामहाराजले राज्य विस्तारका लागि जुँगामा ताउ लगाएका थिएनन् । दूरगामी उज्ज्वल भविष्य र स्वतन्त्र राष्ट्रको मार्ग प्रशस्त गर्न प्राचीन गौरवको देश नेपालको नाम चयन गर्नु, देशको राजधानी काठमाडाँैलाई बनाउनु र गोरखालाई एउटा जिल्ला कायम गर्नु यसका प्रमाण हुन् । अनेकतामा एकताको उनले गरेको वाचा सर्वतोभावेन पूरा गरे । दण्डहीनताको अन्त्य गर्न निरन्तर सचेष्ट रहे ।
राष्ट्र, राजा र व्यक्तिको भेद तथा मूल्य बडामहाराजलाई राम्ररी थाहा थियो । एकीकरणपछि एकीकरणमा भएको योगदान अनुसार राज्यको बट्वारा गरी हामीले पनि हक हिस्सा पाउनुपर्छ भनेर भाइहरूले गरेको आग्रहलाई अस्वीकार गरेका थिए । उनले त्यतिबेला राज्य खण्डित गर्ने कुरा हुँदैन बरु मेरो ठाउँमा तिमीहरूमध्ये कुनै एउटा राजा भए हुन्छ भन्ने जवाफ दिएका थिए । आफ्ना नजिक रहेर निरन्तर सेवा गर्ने विराज बखेतीलाई कजाइ नदिएर जनताको हकहितको रक्षा गर्ने परिकल्पना बोकेका उम्मेदवार कालु पाण्डेलाई कजाइ दिँदा मेरा मनमा त विराज बखेतीलाई कजाइ दिने विचार थियो । दुनियाँ कालु पाण्डेदेखि राजी रहेको देखिँदा धर्मशास्त्र र जनचाहना रजौटाहरूको विचार समेतको सहमतिमा कालु पाण्डेलाई कजाइ दिएँ भन्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेका थिए ।
राजाले जनप्रतिनिधिलाई सुनाएको कुरा जनप्रतिनिधिले राजाका सन्तानलाई सुनाउन र नेपाल राष्ट्र बचाएर न्यायपूर्ण व्यवस्था कायम राखुन् भन्ने उनको आशय पवित्र हो । यसरी पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण मात्र होइन सामाजिक सांस्कृतिक, आर्थिक, भावनात्मक र त्यसबेलाको उपयुक्त राजनीतिक एकीकरणसमेत गरेका हुँदा बडामहाराजको जन्म जयन्ती पुस २७ गतेलाई सर्वमान्य राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदा राम्रो हुन्छ जस्तो लाग्दछ ।
साभार:गोरखापत्रडटओआरजीडटएनपी  

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |