दीनबन्धु अर्याल
यथार्थ इतिहास र आग्रहरहित सत्यको
सम्मान गर्ने व्यक्तिहरूले नेपालको एकीकरणको प्रसङ्गमा बडामहाराज
पृथ्वीनारायण शाहको नाम लिनैपर्ने हुन्छ । कतिपयले बडामहाराज पृथ्वीनारायण
शाहको सालिक तोडी कास्की जिल्लामा रहेको पोखरा उप-महानगरपालिकाको
पृथ्वीचोकको नाम बदलेर लखन चोक राख्न लखन थापाको सालिक जडान गराएका थिए ।
जनजिब्रोमा भने पृथ्वीचोक नै कायम रहृयो । गुरुपुरोहित ज्योतिषी,
ब्राहृमणहरूको यथोचित परामर्शमा राजकाजमा क्षेत्री, गुरुङ, मगर, राई,
लिम्बू, नेवार, थकाली, थारू, शेर्पा, तामाङ आदि विभिन्न जातजातिको सेवा र
सहयोग लिन पाउँदा बडामहाराज सफल भएको तथ्य उनकै मुखबाट निःसृत वाक्य "नेपाल
चार जात छत्तीस वर्णको साझा फूलबारी"ले स्पष्ट गर्दछ । मगरसँग ठकुरीको रगत
मिसिएको दाबी मगरहरूले नै गर्दै आएका छन् । उनीहरूले खाण वा शाहवंशी
राजाका पुर्खा खाँचा खाण र मिचा खाणको नाम मगर भाषामा रहेको प्रमाण
प्रस्तुत गर्दछन् । यिनै रूप आकार र ऐतिहासिक संस्कृतिको सम्मान गरेर
मगरातको राजा मैं हुँ भन्ने बडामहाराज पृथ्वीनारायण शाहले मगरहरूलाई पनि आफ्नो फूलबारीको प्रिय फूलको रूपमा ससम्मान मलजल गर्ने यथेष्ट काम गरेका छन्
। बडामहाराज पृथ्वीनारायण शाह र लखन थापा दुवै देशभक्त र जनताका हितेच्छुक
भएकाले परस्पर मित्रशक्तिका रूपमा अङ्कित छन् । लखन थापाप्रति नेपाली जनता
कृतज्ञ छन् । नेपालको कुनै अर्को ठाउँमा लखन थापाको प्रतिमा राखेको भए
जनतामा उत्साह जाग्थ्यो । कुनै ठाउँ विशेषमा एउटा देशभक्त, जनसेवीको सालिक
तोडेर अर्को देशभक्तको सालिक राख्नु युक्तियुक्त भएन भन्ने मात्र जनताको
चिन्तन हो ।