Friday, September 10, 2010

कांग्रेसका युवा उम्मेदवार नै बूढा

image

नयाँ पत्रिका
काठमाडौं, २४ भदौ
सबैभन्दा बढी युवा उम्मेदवार खडा भएको भनिएको कांग्रेसको १२औँ महाधिवेशनका सबैजसो 'युवा' ४५ नाघेका छन् । युवाको विश्वव्यापी मापदण्डलाई पार गरिसकेका कांग्रेसका नेताले आफूलाई युवानेताको दाबी गर्दै पार्टीको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।
युवाका नाममा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्ने अधिकांश नेता विश्वव्यापी मापदण्डमा 'युवा' पर्दैनन् । युवा नेताको रूपमा चर्चामा रहेका हृदयराम थानी ५०, बालकृष्ण खाँण ५३, नारायण साउद ४८, अजयकुमार चौरसिया ४६, धनराज गुरुङ ४५, गगनकुमार थापा ३५, विश्वप्रकाश शर्मा ३९, बालकृष्ण दाहाल ४०, महेन्द्र यादव ४७, नवीन्द्रराज जोशी ४४, रामकृष्ण यादव ४९, शोभाकर पराजुली ५२, उमा अधिकारी (रेग्मी) ५६, रामहरि खतिवडा ४१, मित्रसेन दाहाल ४९, किशोरसिंह राठोर ४५, शंकर भण्डारी ४७, प्रदीप पौडेल ३४, सुरेन्द्र पाण्डे ४६ उमेरका छन् ।
कांग्रेसका यी युवा उम्मेदवारमध्ये सबैजसो ४० कटेका छन् । तर, उनीहरू संयुक्त राष्ट्रसंघको मात्र होइन, राष्ट्रिय युवा नीति, २०६६ ले निर्धारणको युवा उमेर समूहमा समेत पर्दैनन् ।
कुन उमेर समूहका मानिसलाई युवा मान्ने भन्नेमा विश्वमा एउटै मापदण्ड नभए पनि संयुक्त राष्ट्रसंघले १५-२४ वर्षको उमेर समूहलाई युवा मानेको छ भने राष्ट्रिय युवा नीति, २०६६ ले १६-४० वर्षसम्मको उमेर समूहकालाई युवा मानेको छ । तर, युवा भन्दै उम्मेदवार भएका सबैजसो कांग्रेसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड काटिसकेका छन् ।
वीरबहादुर बलायर, सुवास पोखरेल, ऋषिकेश शाह, दामोदर भुसाल, रमेश रायमाझी, पुष्पराज पराजुलीलगायतकाले पनि आफूलाई युवा उम्मेदवारको रूपमा प्रस्तुत गर्दै आएका छन् । उनीहरू सबै ४० वर्ष उमेर कटेका छन् । तर, सबै 'युवा' प्रत्याशीले महाधिवेशन प्रतिनिधिसँग ४० प्रतिशत युवालाई स्थान दिन आग्रह गर्दै नेतृत्वको घरमा पुगेर दबाब दिँदै आएका छन् ।
२४ वर्षकालाई मात्र युवा मान्ने राष्ट्रसंघको नीतिको आलोचना भएपछि राष्ट्रसंघकै पहलमा सन् २००१ मा भएको विश्व युवा मञ्चको भेलाले तय गरेको डाकार युवा सशक्तीकरण रणनीतिले युवाको उमेर २४ बाट बढाएर ३० वर्ष पुर्‍याएको हो । बेलायतको युवा रोजगार नीतिले १६ वर्ष उमेर समूहका मानिसलाई युवा मानेको छ भने उत्तरी इटालीमा १४-१९ वर्ष समूह र दक्षिण इटालीमा १४-३२ वर्ष उमेर समूहलाई युवा मानिएको छ । त्यस्तै, विश्व बैंकको विश्व विकास प्रतिवेदन २००७ ले १२-२४ वर्षकालाई युवाको श्रेणीमा राखेको छ ।
राष्ट्रिय योजना आयोगको तीन वषर्ीय अन्तरिम योजना (२०६४/०६५-२०६६/०६७) ले १५-२९ वर्ष उमेर समूहकालाई युवाको श्रेणीमा राखेका छन् । उक्त योजनाअनुसार नेपालमा उल्लिखित उमेर समूहका मानिस ६१,३१,२४८ छन् । त्यसैगरी राष्ट्रिय युवा नीति, २०६६ ले युवा भन्नाले १६-४० वर्ष उमेर समूहका महिला, पुरुष तथा तेस्रोलिंगीहरूलाई जनाउने उल्लेख छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष प्रदीप पौडेल विश्वव्यापी मान्यताअनुसार ४० वर्ष पार गरेकालाई युवा मान्न नसकिने बताउँछन् । उनले भने, 'नेपाल र विश्वव्यापी मान्यतालाई हेर्ने हो भने उहाँहरू युवा नेतामा पर्नुहुन्न, तर पुस्तान्तरणका हिसाबले हेर्ने हो भने, कांग्रेसको उहाँहरू युवा नेता नै हो ।'
कांग्रेसमा ७० वर्ष पार गरिसकेका कार्यवाहक सभापति सुशील कोइरालालाई समेत युवा नेताको रूपमा सम्बोधन गर्ने गरिएको छ । उता केन्द्रीय सदस्यका प्रत्याशी चन्द्र भण्डारीले व्यक्ति उमेरले भन्दा उसको विचार र सक्रियताले युवा हुने दाबी गरे । उनले भने, 'वर्षले होइन, नयाँ विचार र ऊर्जाले मात्र मान्छेलाई युवा र वृद्ध बनाउँछ ।'
केन्द्रीय सदस्यका अर्का उम्मेदवार दीपक गिरीले आफू ४५ वर्ष पार गरिसकेको उल्लेख गर्दै आफूलाई युवा भन्न लाज लाग्न थालेको बताए । उनले भने, 'युवा भने पनि जे भने पनि हाम्रो पुस्ता युवा र वर्तमान नेतृत्वलाई जोड्ने पुल हो ।' नेपालको राजनीतिक क्षेत्रलाई हेर्ने हो भने ५० वर्ष नाघेका व्यक्ति युवा नेताको रूपमा स्थापित भएका छन्, खासगरी कांग्रेसमा ।

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |