Saturday, December 24, 2011

मदिरा : कति घातक, कति फाइदाजनक

नेपाली महिला नगरकोटमा रक्सि बनाउदै
 डा. हरिहर खनाल
पहिले मान्छेले रक्सी पिउँछ, त्यसपछि रक्सीले रक्सी पिउँछ र अन्त्यमा रक्सीले मान्छे सिध्याउँछ। विश्व स्वास्थ्य संघ भन्छ, 'न्यूनतम मात्रामा मदिरा सेवन गर्दा हृदयाघातजन्य रोगको सम्भावना घटेको विश्वस्त प्रमाण भेटिएको भए पनि अन्य स्वास्थ्यको सुधारका लागि भने मदिरा सेवनको सल्लाह दिनु कदापि ठीक होइन।


मदिरा वा रक्सी सेवनले स्वास्थ्य तथा जीवनमा पार्ने प्रभाव अध्ययन गर्दा तुरुन्त पार्ने प्रभाव तथा दूरगामी प्रभावलाई हेर्नुपर्छ। त्यस्तै असल प्रभाव तथा खराब प्रभाव, व्यक्तिगत प्रभाव तथा सामाजिक प्रभाव सबै सम्पूर्णता हेरेर मात्र फरक फरक अवस्थामा फरक फरक व्यक्तिलाई फरक फरक सल्लाह दिन सकिन्छ।
युरोपमा रक्सीको कारणले बर्सेनि २५ हजार मानिस कलेजोको सिरोसिस (गिर्खा गिर्खा हुने) भएर मर्छन्, ६० हजार क्यान्सर भएर मर्छन् (यसमा ११ हजार स्तन क्यान्सरसमेत पर्छ ), २७ हजार भवितव्यले मर्छन्, १० हजारले आत्महत्या गर्छन् भने एकदुई लाखमा डिप्रेसन (खिन्नपना, नकारात्मक सोचविचार आदि) पाइएको छ। त्यस्तै अमेरिकामा दैनिक सात हजारको मृत्यु र दुई हजार आठ सय जनाले घाइते हुने कारण पनि रक्सी नै भएको छ। रक्सीको नशा लाग्ने तथा लत लाग्ने हुनाले यसको सदुपयोग भन्दा दुरुपयोग बढेर जाने हुँदा यस्ता डरलाग्दा क्षतिका घटना बढ्दै गएको पाइएको छ।

ठिक्क मात्रामा मदिरा सेवन गरेमा हृदय तथा नसाको रोगमा कमी आउने कुरा धेरै अध्ययनले देखाएको कुरा रक्सी दुरुपयोग तथा नसापान अध्ययन इन्स्टिच्युटका निर्देशकले भनेका छन्। अमेरिकी हृदयरोग संस्थानको पाचन शाखाका अनुसार न्यूनतम मृत्युदर कायम गर्नका लागि दैनिक एक वा दुई पेग भन्दा कममात्र सेवन गरेको हुनुपर्छ। रक्सीले शरीरमा पार्ने प्रभाव मात्रा, रक्सीमा निहित घनत्व प्रतिशत तथा सेवन गर्ने तरिकामा भर पर्छ। शरीरभित्र जति धेरै, जति छिटो, जति कडा रक्सी गयो र रगतमा पुग्यो, त्यति गहन प्रभाव देखिने हुन्छ। यसरी रगतमा मात्रा हेरेर देखिने प्रभाव निम्नअनुसार छ।
बियर बनाउने प्रक्रिया
यसरी हेर्दा ज्यादा भएमा मृत्युसम्म हुन सक्ने मात्र होइन कि यो लत बस्ने भएकोले मात्रा बढ्दै गएर त्योसम्म पुग्न सक्ने हुन्छ।
रक्सीले मस्तिष्कमा स्नायु कोशिका नष्ट गराउँछ भने त्यसले गर्दा बिर्सने, निराश हुने, आक्रामक हुने व्यवहार, दृष्टि, बोली, तथा समन्वयमा गडबडी पार्दछ। त्यस्तै घाँटी, मुख, स्तन तथा कलेजोको क्यान्सर पनि गराउँछ।
मदिरा सेवनको कारणबाट हुने सामाजिक प्रभाव, वृद्धि विकासमा पर्ने प्रभाव, आर्थिक भार, कार्यक्षमतामा कमी- कमजोरी, विश्लेषण गर्ने खुबीमा ह्रास आदिलाई सामाजिक तथा राष्ट्रिय स्वास्थ्यमा परेको प्रभावका रूपमा लिने गरिन्छ। विश्वव्यापी रूपमा मदिरा सेवनबाट सन् १९९० मा १.५ प्रतिशत सर्वसाधारणको मृत्यृु भयो भने सन् २००२ मा ३.२ प्रतिशतको मृत्यु भयो। त्यस्तै अक्षमता तथा असमर्थताको सामञ्जय गरेर हेर्दा वार्षिक आर्थिक भार वा नोक्सानी ४ प्रतिशतसम्म पाइन्छ। यी पनि विकसित देशका अध्ययनमा आधारित कुरा हुन्। यिनै तथ्यांक हाम्रो अशिक्षित, गरिब, दुःखी तथा निराशावादी जनसंख्यामा दोब्बर देखिन सक्छन्।
मदिराका धेरै नराम्रा प्रभाव भए पनि राम्रो कुरा, फाइदाको कुरा प्राप्त हुने कुरामा धेरै अध्ययन, लेख , रचना देखिएका छन्। जसमा फाइदा हुन सक्छ तर नियन्त्रित ठिक्क सेवनले तथा नियन्त्रित तथा साँघुरो प्रभावले। यसरी ठिक्क सेवनले हुन सक्ने फाइदाहरू निम्नअनुसार उल्लेख गरिएको छ।
-हृदयरोग, रक्तनलीको रोग तथा हिँड्दा पिँडौला दुख्ने समस्या कम हुन्छ।
-हृदयाघातबाट मर्ने सम्भावना घट्छ। त्यसको कारण रक्सी सेवन गर्नेको असल कोलेस्टेरोलको मात्रा बढ्नाले हो।
-पक्षघातको संभावना घट्छ। त्यसको कारण पनि असल कोलेस्टेरोल बढ्नु नै हो।
-पित्तथैलीमा पत्थर जम्ने सम्भावनामा कमी हुन्छ।
-चिनीरोग लाग्ने संभावना कम हुन्छ वा घट्छ।
मदिरा सेवन हाम्रो समाजमा बढ्दो छ। कति जातले सगुनका रूपमा लिनैपर्ने, कति जातले पाएको भनेर भेटेजति पिउने, बेरोजगारले तनाव कम गर्न पिउने, रातारात पैसा कमाउनेले मनोरञ्जनका लागि पिउने गरेको पाइन्छ। साथै हरेक भोजभतेर, होटल,रेस्टुरेन्टमा पनि रक्सीको बाहुल्य तथा पिउन वातावरण हेरेर ग्राहक आउने कारणले यसको सेवनमा कमी आउने देखिँदैन। मदिराको तलतल लाग्ने, लत बस्ने र मात्रा बढ्दै जानाले पनि यसको सेवन गर्नेहरूको संख्या बढ्दो छ।
मदिरा सेवनले हुने क्षतिमा सामाजिक पक्ष झन् ठूलो छ। सवारी दुर्घटनाका अधिकतम कारणमा रक्सीको सेवन नै देखिन्छ भने परिवारबीचमा झगडा, मारपिट, सम्बन्धविच्छेद गराउनमा पनि यो अग्रस्थानमा छ। मदिरा सेवनका कारण हुने खास प्रकारका समस्या अर्थात् रोग बढ्दो रूपमा पाइन्छ। त्यस्ता समस्या निम्न छन्।
भिटामिनको कमीसन्तुलित आहारको कमीले गर्दा, खास रूपमा भिटामिन बीको कमी भएर कोर्साकोभ सिन्ड्रोम, बेरनिक्स इन्सेफालोपाथी तथा बेरीबेरीजस्ता समस्या आउँछन्। कोर्साकोभ सिन्ड्रोममा सम्झने शक्ति हराउने, नयाँ तरिका, सीप, विश्लेषण गर्न नसक्ने हुन्छ भने बेरनिक्स इन्सेफालोपाथीमा समय, स्थान तथा परिवेशको ज्ञान हराउने, नजिकको घटना, सम्झने शक्तिमा ह्रास तथा मेसो नपाउने हुन्छ। त्यस्तै बेरीबेरी भएमा शरीर सुन्निने, सास बढ्ने आदि हुन्छ।
मानसिक समस्याडिप्रेसन हुने तथा श्रीमान्-श्रीमतीमा शंका (आफ्नो पौरुषमा कमी आउनाले तथा आफ्नो चरित्रको प्रतिफल गुम्ने डरले गर्दा धेरै लोग्नेमान्छेहरू मोर्बिड जेलसी वा कमजोरीले उत्पन्न डाह, रिसजस्ता समस्याले ग्रसित) उत्पन्न हुन्छ। त्यस्तै समाज र परिवारमा आफ्नो स्थान कम महसुस गर्नु, आफ्नो मानमर्यादा घटेको देख्नु, बढी झर्किनु, सल्टिसकेका समस्या फेरि दोहोर्‍याउनु आदि लक्षण देखिन्छन्। यी सबैले विश्वासको समस्या, आत्मस्वाभिमानको समस्या पैदा गर्छन्।
सामाजिक समस्या कार्यालय, स्कुल, समाज, संस्था वा कुनै पनि स्थानमा मदिरा सेवन गर्नेप्रतिको अविश्वास, उनीहरूको घट्दो कार्यक्षमता, असान्दर्भिक तर्क गर्ने, शंका गर्ने, रिस गर्ने बानीले सामाजिक प्रतिष्ठामा आँच पुग्छ।
अन्य रोगहरू : रक्सीजन्य कार्डियोमायोपाथी हुन सक्छ। यसमा मुटु सुन्निने, दम फुल्ने, हल्लने भएर मृत्युसम्म हुन सक्छ। रक्सीजन्य कलेजोको सिरोसिसमा कलेजोको स्वरूप तथा काममा गडबड भई कलेजो गाँठा गाँठा भएर जान्छ तथा रगत जम्ने प्रक्रियामा गडबडी, ठाउँ ठाउँमा रक्तचाप बढेर रक्तस्राव रगत जम्ने प्रक्रियामा गडबडी, पेटमा पानी भरिने आदि भई मृत्युसम्म हुन्छ। यीबाहेक रक्सी सेवन गर्नेले चुरोट पनि सेवन गर्ने सम्भावना भएकाले क्षयरोग, बर्गर रोग (हातखुट्टाका औँलाहरूमा रगतको सञ्चार घटेर वा रोकिएर मर्ने, दुख्ने अवस्था) आदि हुन सक्छ। त्यस्तै रक्सी सेवन गर्नेको आँखा अनुहार, शरीर सन्तुलन, सीपकला सबैमा कमी-कमजोरी बढ्दै जाने हुनाले यससँग सम्बन्धित अन्य रोग पनि हुन सक्छ।
ठिक्क मात्रामा गरिएको मदिरा सेवन राम्रो हुन सक्छ तर यसले खराब पक्षले राम्रो पक्षलाई छोप्ने हुनाले यसको सेवनलाई सकारात्मक रूपमा लिन सकिँदैन।
रगतमा रक्सीको मात्रा (घनत्व) देखिने प्रभाव
०.०३३-०.१२ प्रतिशत दंग, फुरुंग महसुस, उच्च मनस्थिति हुने
०.०९३-०.२५ प्रतिशत अल्छी लागेजस्तो हुने, फुर्ती कम हुने
०.१८३-०.३० प्रतिशत अलमल पर्ने, झुक्किने, भ्रम हुने
०.२५३-०.४० प्रतिशत होस गुम भएजस्तो हुने, अर्धचेत हुने, बढी नै भ्रम पर्ने
०.३५३-०.५० प्रतिशत मूर्च्छा पर्ने, बेहोस हुने, गहिरो अचेत अवस्था हुने
०.५० प्रतिशत वा बढी मृत्यु
स्रोत: शुक्रबार - nagariknews.com

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |