Sunday, May 29, 2011

सुन्दर बन्द

--प्रकाश आस्था 
वास्तवमै सुन्दर छ बन्द! नेपालको 'राष्ट्रिय बाह्रमासे पर्व' बन्द रमाइलो छ। के कर्मचारी, के विद्यार्थी, के गुरु, के चेला, के राजासाब, के माड्साप, के गुरुजी, के खलाँसी, के साहुजी, के बाबुजी सबैको हितकारी छ यो बन्द। जसरी तीतै भएपनि करेला स्वास्थ्यको लागी अत्युत्तम तरकारी हो, उसैगरी लफडायुक्त भए पनि सर्वजन हितकारी छ बन्दवाण। स्वतन्त्रता, शान्ति, लोकतन्त्र, मानवअधिकार, संविधान, गणतन्त्र, स्वशासन र विकासका लागि त बन्द सर्वोत्तमै हो। मान्छेहरू हचुवामा बोल्छन्। पत्रिका र रेडियोमा आएको विवरणका आधारमा जन राष्ट्रलाई यतिउति दैनिक घाटा हुनेजस्ता हौवा फैलाउँछन्। के बिगार गरेको छ बन्दले?

बन्द हुँदा मोटर चल्दैन। बस चालक र खलाँसीहरूलाई त्यसै चैन। सधैँको हतपत र लतपतको जिन्दगी बाँचेका तिनलाई बन्दले ल्याउने सुगन्धका बारेमा बन्दविरोधी फेसबुकेलाई के ज्ञान? म्यारिजका खालमा बसेर प्यारीले अर्पण गर्ने तरंगे झोल तुइक्याउनुको आनन्द के पत्तो अरूलाई? मोटर नचलेपछि अफिसमा सेवाग्राही आउने कुरो भएन। अनि सरकारी तथा गैरसरकारी कर्मचारी बन्धुलाई पनि हाइसन्चो। उसै त 'सरकारी काम, कहिले जाला घाम' भन्छन्। अझ बन्दै भैदेपछि त काण्डै खत्तम। अफिसका पियनलाई बिहानै एक कल फोन गर्‍यो र पलङमा ढल्दियो। अफिस जानु के काम? घरमै बस्यो, गन्यो दाम।


साहुजीलाई पनि सजिलै छ। हिजो पन्ध्र रुपैँयाको गोल्भेँडा बन्दपछि चालीस । अस्ति पैँतालीसको चामल आज पचपन्न। सोध्यो, 'किन?' 'बन्दले'। सबैथोक महंगो। सोचिल्याउँदा त बन्दले गर्दा हाम्रा साहुजीको मन्दमन्द लक्ष्मीवृद्धि हुने पो रहेछ। अगाडीको ढोकाबाट नभए'नि पछिल्लो ढोकाबाट नोट झर्ने भो। बन्दले साहुजीको पनि जय गर्ने भो।

विद्याथीले पनि कति पढ्नु बाह्रैमास? जब बन्द हुन्छ, तब विद्यार्थी मुक्त हुन्छन्। होमवर्क वाद हुन्छ। डेरामा साथीको बगाल हुन्छ। होहल्लाको राज हुन्छ। सडकमा ब्याटिङ र गोल हुन्छ। साँच्चै मजा खास हुन्छ। अहा, क्या बिन्दास हुन्छ। माड्सापले पनि कति बोक्नु सिम्किना र डन्डा? सधैँ बेकारको लन्ठा। भन्न नमिलेर मात्रै हो नत्र जब बन्द साँच्चै बबाल हुन्छ, तब गुरुजीकहाँ पनि केही खास हुन्छ। यसर्थ बन्द प्रिय नै छ। सबैका लागि रुचिकर छ।

पत्रिकामा विवरण चढाउने पत्रकारका लागि पनि बन्द उत्तिकै वन्दनायोग्य छ। सधैँको उही झयाँउझयाउँ। सडकको उही हल्ला। न हिड्ने गोरेटो न गुड्ने सडक। हतारैहतार। चटारो र झम्मार। यताको सभा, उताको सम्मेलन। कतै कविका किताब, कतै नेताका नौरूप। कहिले हिरोको हौवा, कहिले हिरोइनको हैरानी। यता एक्सन, उता कट। फुर्सद कहिले हुने हो र पत्रकारलाई? सधैँ हतार र फटाफट। जब बन्द हुन्छ, तब एउटा प्रेस नामको चिर्कटो आफ्ना सबारीमा टाँस्यो। दुनिया रुल्लटुल्ल, आफू 'बन्द अवलोकन भ्रमण' गर्‍यो। बन्दकै तस्बिर, बन्दकै खबर। बन्दकै भक्सपप्। बन्द प्रभावको विश्लेषण।

भारी बोक्नेका कुरा नगर्नुस्। बन्द नभए पनि तिनले कति नै पो पेटभर खान पाउने हुन् र? बरु बन्दका नाममा व्रत बसे भने स्वास्थ्य सिन बन्ने परत्र पनि सप्रने। तर बन्द भए'नि बाहुबली मजदुरलाई तलब आइहाल्छ। दाम हुनेलाई यो राज्यमा के छैन? मागअनुसारको पूर्ति घरमै भइहाल्छ। मूल्य बढेर के फरक पर्छ? हुनेले हसुर्न पाइहाल्छ। यसर्थ, बन्द हाम्रो गौरव हो। यो अत्यावश्यक छ। यसको महिमा अपरम्पार छ। यो बेहद सुन्दर छ। न धुलो, न गन्ध, अहा! क्या सुन्दर छ बन्द।
स्रोत:नागरिकन्युजडटकम 

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |