Wednesday, November 14, 2012

आयो रसिलो चाड तिहार !

गाउँले बलदेव- दिदीबहिनीले माइती सम्झिने दिन। दाजुभाइले दिदीबहिनीको महिमा बुझ्ने दिन। तिहार आयो! माइती गाउँको कुकुर पनि प्यारो! धर्मराज यमराज आफ्नी बहिनी यमुनाकहाँ जाँदै छन्। यमुना दाजुको व्यग्र प्रतीक्षामा छिन्। धर्मसंरक्षण गर्दै छिन्, यमुना। दाजुभाइ र दिदीबहिनीको पुनर्मिलन हुँदै छ। पारिवारिक पुनर्मिलन। आत्मीय पुनर्मिलन! आत्मीयता धर्म। प्रेम र स्नेह धर्म। प्राणीले प्राणीलाई आदर गर। प्रत्येक जीवमा ईश्वरको दर्शन गर। धर्म यसै भन्छ। सबै प्राणी समान छन्। समानताको पर्व हो तिहार! काग, कुकुर, गाई र गोरुको पूजा हुन्छ, तिहारमा। मान्छे पूजक हुन्छ र पशुपक्षी पूजित हुन्छन्। मानवको अहङ्कार नष्ट हुन्छ। अर्कामा आफूलाई देख्न सिकाउँछ धर्मले। 'यम'मा 'उना' थपिएर यमुना बनैकै त हुन्। दाजुभाइ र दिदीबहिनीमा भेद कहिले पो थियो र! यमुना पापनाशिनी र धर्मदायिनी हुन्। दाजुबहिनीको अधिकार दाँज्ने हो भने बहिनीकै बढी छ। यमराजले पापीको पाप मोचन गर्न सक्तैननन् तर यमुनाले सक्छिन्। दाजुभाइहरूले बुझ्नुपर्छ-"दिदीबहिनीको शक्ति र महिमा। दिदीबहिनी आफ्नो मात्र होइन अर्काका दाजुभाइको पनि दीर्घायुको कामना गर्न सक्छन्, जसरी यमुनाले गरेकी थिइन्।" यमुनाकै कृपाबाट दिदीबहिनीले भाइटीकाको दिन दाजुभाइलाई घेरो लगाइएको तेल नसुकुन्जेल र मखमलीको फूल नओइलाउन्जेल यमदूतले कसैका दाजुभाइलाई मार्न पाउनेछैनन्। यमपञ्चकभरि यमराज बहिनी यमुनाकहाँ विश्राम गर्न जान्छन् र उनका दूतहरू मानवबस्तीमा पूजा बटुल्न व्यस्त हुन्छन्। मृत्यु आफैँ हराउँछ। तिहारलाई हामी मृत्युञ्जय-पर्व पनि भन्न सक्छौँ। कागले मानवलाई जीवनको अन्तिम घडीमा भए पनि भगवद्भक्ति तथा शुभकर्म गर्न मृत्युको पूर्वसूचना दिने गर्छ। कागले कराएर वर्षा हुने सूचना दिन्छ। अन्य कुनै कारणविना घरको धुरीमा वा घरनजिकैको रूखमा काग एकोहोरो कराइरह्यो भने त्यस घरका कसै न कसैको मृत्यु भएकै हुन्छ। यस कुराको विश्वास 'मुनामदन' खण्डकाव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि गरेका छन्। मदनलाई मुनाको मृत्युको समाचार कागले नै सुनाएको थियो। यमदूत कागको निम्ति हिन्दुगृहस्थीले सधैँ बलि दिनुपर्छ। पवित्र खाद्यान्न दिनु नै बलि दिनु हो। पातमा दुध र भात राखेर काग, कुकुर, गाई र गोरुलाई नछुट्ट्याई गृहस्थीले भोजन गर्नै हुन्न भन्ने विधान पाइन्छ, हाम्रा शास्त्रहरूमा। 'काकोक्सि यमदूतोक्सि' भन्ने संस्कृत वचनले कागलाई यमदूत भनेकै छ। कागतिहारमा कागको विशेष पूजन गरिन्छ। आयो कुरो, कुकुर तिहारको। कुकुर पनि यमदूत नै हो। महाराज युधिष्ठिर साक्षात् यमराज नै थिए। कुकुर उनीसँग जिउँदै स्वर्ग गएको भन्ने पौराणिक कथा छँदै छ। कसैले पत्ता लाउन नसकेको अपराध वा पाप कुकुरले नै पत्ता लगाउँछ। प्रहरी सङ्गठनलाई अपराध-अनुसन्धानका लागि कुकुरले सहयोग गर्ने गरेको कुरो हामीले देखिरहेकै छौँ। गरिनसकेको अपराध पनि कुकुरले सुँघेरै थाहा पाउँछ। पापी र धर्मात्मा छुट्ट्याउनका लागि यमराजले समेत कुकुरकै सहयोग लिन्छन्। कुकुर मृत्युञ्जय भैरवको वाहन पनि हो। स्वामीभक्त कुकुर घरघरमा पालिएको छ तर कुकुरपूजाको दिन उसको विशिष्ट पूजन हुन्छ। कुकुर मानिसभन्दा विवेकशील, न्यायकर्ता र कर्तव्यनिष्ठ हुन्छ भन्ने कुरा हामीले देखिरहेकै छौँ। अबको पालो गाईको। गाईको दुध र माईको दुध उत्तिकै पोषिलो हुन्छ। माईको दुध मात्र काम लाग्छ। गाईको त दुध, दही, घिउ सबै अमृत हुन्। पाँच अमृत मिलेर पञ्चामृत बन्छ। पञ्चामृतमा तीन प्रकारका गोरस दुध, दही र घिउ अनिवार्य हुन्छन्। संसारमा आमाभन्दा बढी कोही हुँदैन भनिएको छ। आमाभन्दा बढी गाई हुन्छ। आमा अर्थात् माई। माईको पिसाब पनि अपवित्र, दिसा पनि अपवित्र। गाईको गोबर पनि कीटनाशक हुन्छ यसैले हरियो गोबरले लिपिएको घर सधैँ पवित्र हुन्छ। "हरियो गोबरले लिपेको लछिमी पूजा गरेको। हे औँसीबार, गाईतिहार-भैलो!" गाईको गोबरले लिपिएको घरआँगनमा लक्ष्मीको वास हुन्छ। अयुर्वेदका औषधिहरू गाईको गोबरकै गुइँठाले पकाउने चलन अझै छ। गोमूत्रले दम, क्यान्सरजस्ता घातक रोगहरू पनि निको भएको कुरा हामीले पढेकै हौँला। मृतकहरूको आत्मालाई घनघोर वैतरिणी नदीबाट पार लगाउने गाईले मरणोपरान्त पनि मानव-कल्याण गर्दछ भन्ने शास्त्रोक्त मान्यता छ। सनातन धर्मका यावत् देवकर्म र पितृकर्म गोदानविना सम्भव हुँदैन। पापको प्रायश्चित्त गर्नलाई पनि गाई नै चाहिन्छ यसैले गोमाताको स्थान माताको भन्दा माथि छ। भगवान् श्रीकृष्णको दिव्यलोकको नाम नै गोलोक रहनुबाट गाईको महŒव सर्वोत्कृष्ट छ। गोरक्षक भएकैले गोरखा भएको हो। नेपालीहरू गोरक्षक अर्थात् गोरखाली हौँ। आयो कुरो गोवर्धनको। भगवान् श्रीकृष्णले इन्द्रको पूजा गर्ने तयारीमा रहेका गोठालाहरूलाई गोवर्धन पर्वतको पूजा गर्न लगाएको प्रसङ्ग श्रीमद्भागवत र अन्य आध्यात्मिक शास्त्रहरूमा पाइन्छ। भगवान्ले गोवर्धन पर्वत उठाएर इन्द्रको आतङ्कबाट व्रजवासीहरूलाई संरक्षण गरेका थिए। गोवर्धनपर्वत गोलोकजत्तिकै पवित्र मानिन्छ। यसै दिन नेवारी समाजमा म्ह अर्थात् आत्माको पूजा गरिन्छ। आत्मा भगवान्को प्रतीक हो। गोरु गोवर्धक हो। कृषिप्रधान देश नेपालमा गोरुको पूजा गर्नु कृतज्ञता हो। कृतज्ञता महान् धर्म हो। नन्दी गोरु नै हुन्। महामृत्युञ्जय भगवान् शिवको वाहन गोरुको पूजा गर्नुमा थप कारण यसै देखिन्छ। गोरु पितृको प्रतीक पनि मानिन्छ। तिहारको अन्तिम दिन गरिने भ्रातृपूजा अर्थात् भाइपूजाले दिदीबहिनी र दाजुभाइको सम्बन्धमा प्रगाढता थप्दछ। वास्तवमै तिहार सबै प्राणीहरूको समान पर्व हो। लक्ष्मीपूजाका दिन महालक्ष्मीको विशेष पूजन गरिन्छ। झिलिमिली बत्ती बालेर घरआँगन उज्यालो बनाइने हुनाले तिहारलाई दीपावली भन्ने गरिन्छ। तिहारमा महिलावर्गले भैलो र पुरुषवर्गले देउसी भनेर दानको महत्व जनाउँछन्। कलाप्रदर्शक एवं संस्कृतिका संरक्षक मगन्तेहरू पनि पूज्य हुन्छन्, तिहारमा। तिहार सबै दृष्टिले उत्तम संस्कृति हो। एक छिन हामी पनि भैलो भनौँ-"हामी त्यसै आएनौँ बलि है राजाले पठा'को। बलि है राजाले पठा'को -भैलो! यो घरकी मुखिनी कस्ती पुर्नेकै जून जस्ती, पुर्नेकै जून जस्ती-भैलो!" देउसी पनि भन्ने हो त? ए है हाई हाई!- देउसी रे! ए है भन मेरा भाइ हो!-देउसी रे! ए है यो घरको-देउसी रे! कल्याण होओस् -देउसी रे! ए है ढुङ्गो छोए-देउसी रे! ए है सुन भइजाओस् -देउसी रे! ए है माटो छोए-देउसी रे! धन भइजाओस् -देउसी रे! इत्यादि। बाँकी कुरो तिहारमै भट्ट्याउँला। Source: nagariknewsdotcom

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |