Wednesday, November 14, 2012

आयो रसिलो चाड तिहार !

गाउँले बलदेव- दिदीबहिनीले माइती सम्झिने दिन। दाजुभाइले दिदीबहिनीको महिमा बुझ्ने दिन। तिहार आयो! माइती गाउँको कुकुर पनि प्यारो! धर्मराज यमराज आफ्नी बहिनी यमुनाकहाँ जाँदै छन्। यमुना दाजुको व्यग्र प्रतीक्षामा छिन्। धर्मसंरक्षण गर्दै छिन्, यमुना। दाजुभाइ र दिदीबहिनीको पुनर्मिलन हुँदै छ। पारिवारिक पुनर्मिलन। आत्मीय पुनर्मिलन! आत्मीयता धर्म। प्रेम र स्नेह धर्म। प्राणीले प्राणीलाई आदर गर। प्रत्येक जीवमा ईश्वरको दर्शन गर। धर्म यसै भन्छ। सबै प्राणी समान छन्। समानताको पर्व हो तिहार! काग, कुकुर, गाई र गोरुको पूजा हुन्छ, तिहारमा। मान्छे पूजक हुन्छ र पशुपक्षी पूजित हुन्छन्। मानवको अहङ्कार नष्ट हुन्छ। अर्कामा आफूलाई देख्न सिकाउँछ धर्मले। 'यम'मा 'उना' थपिएर यमुना बनैकै त हुन्। दाजुभाइ र दिदीबहिनीमा भेद कहिले पो थियो र! यमुना पापनाशिनी र धर्मदायिनी हुन्। दाजुबहिनीको अधिकार दाँज्ने हो भने बहिनीकै बढी छ। यमराजले पापीको पाप मोचन गर्न सक्तैननन् तर यमुनाले सक्छिन्। दाजुभाइहरूले बुझ्नुपर्छ-"दिदीबहिनीको शक्ति र महिमा। दिदीबहिनी आफ्नो मात्र होइन अर्काका दाजुभाइको पनि दीर्घायुको कामना गर्न सक्छन्, जसरी यमुनाले गरेकी थिइन्।"